मुम्बई फिल्म फेस्टिभलमा ‘राजागञ्ज’को रेडकार्पेट स्क्रिनिङ

काठमाडौं । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ (पूजा, सर) भारतको प्रसिद्ध मुम्बई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको छ । भेनिस र बुसानपछि यो फिल्मलाई दक्षिण एसिया प्रिमियर गरिएको हो ।
केही दिनअघि मुम्बईमा आयोजित फिल्मको रेडकार्पेट स्क्रिनिङमा फिल्मको ‘कास्ट एड क्रू’ सहभागी रह्यो । निर्देशक रौनियारसहित कलाकार आशा मगराती, गौमाया गुरुङ र पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक रेडकार्पेटमा सहभागी भए ।
नेपालमा ‘राजागञ्ज’ शीर्षकमा फिल्म रिलिज हुने भएपनि विदेशमा भने ‘पूजा, सर’ शीर्षकमा स्क्रिनिङ भइरहेको निर्माता कम्पनी बाँसुरी फिल्म्सले जनाएको छ ।
‘कबड्डी’ र ‘जारी’जस्ता ब्लकबस्टर फिल्मका निर्माता रामबाबु गुरुङ, भारतीय निर्देशक अनुराग कश्यप र अभिनेता दयाहाङ राई यो फिल्मका प्रमुख निर्माता रहेको जनाइएको छ । अभिनेत्री मगराती, पूर्णसिंह बराइली र नीरज श्रेष्ठलाई पनि निर्माताको रुपमा चिनाइएको छ ।
‘हाइवे’ र ‘ह्वाइट सन्’पछि रौनियारको यो तेस्रो फिचर हो । ‘राजागञ्ज’ चैत १ गते नेपालका हलमा रिलिज हुँदैछ ।
तस्वीरहरु
– यस समाचारको श्रोत : Online Khabar हो ।