छोइ नसक्नु तरकारीको भाउ !

८ कात्तिक, काठमाडौं । ललितपुर इमाडोलकी शान्ता श्रेष्ठ ‘इभिनिङ वाक’ मा टिकाथली पुगेर तरकारी किन्ने सोचमा थिइन् । तर, जब तरकारीको भाउ सुनिन्, उनी चकित परिन् ।
बुधबार साँझ भेँडे खुर्सानीको भाउ किलोको ५ सय रुपैयाँ भनेपछि उनी तरकारी किन्न नसक्ने अवस्थामा पुगिन् । ‘पाउको सय भन्छन्, तरकारी कसरी किन्न सकिन्छ, टमाटर छुन सकिने अवस्था छैन, अब त जाउलो पकाएर खानुपर्ने भइसक्यो ।’
उनी जस्तै बल्खु तरकारी बजार पुगेका केशव राउत पनि तरकारीको भाउ सुनेर आत्तिए । ‘यस्तै हो भने काठमाडौंमा बस्न सकिँदैन, तरकारी भाउ डरलाग्दो छ, सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो देखाएको छैन,’ राउतले भने ।
ह्वात्तै बढ्यो भाउ
राउतले भने जस्तै तरकारी भाउ केही दिनदेखि उच्च छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार पछिल्लो साता तरकारीको भाउ उच्च भएको छ ।
१० दिन अगाडि अर्थात् २८ असोजमा कालीमाटीमा सानो गोलभेँडाको औसत मूल्य ८५ रुपैयाँ थियो भने आजको मूल्य १ सय ११ रुपैयाँ किलो छ ।
१० दिन अगाडि रातो आलु औसत ६१ रुपैयाँ किलो रहेकोमा आज ८२ रहेको छ । यस्तै ३५ रुपैयाँ किलोको अहिले ५५ पुगेको छ । बोडीको भाउ १० दिनमा दोब्बर बढी भएको छ ।
कालीमाटी तरकारी बजारमा तने बोडीको भाउ ५५ रुपैयाँ किलो थियो भने आज १ सय २० पुगेको छ । ५ सय रुपैयाँ किलो रहेको कुरिलो आज औसतमा १ हजार ४० रुपैयाँ पुगेको छ ।
कालीमाटीमा तिते करेला अघिल्लो दिनको तुलनामा औसत ३८ प्रतिशत महँगिएको छ । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार बिहीबार तिते करेला किलोको १ सय पुगेको छ ।
बिहीबार घिउ सिमी १ सय, मटरकोसा २ सय, टाटे सिमी ८०, लौका ४०, परवर ६०, घिरौंला ८०, भिन्डी ८०, बरेला ८०, इस्कुस २०, रायो साग ८०, तोरीको साग ८० रुपैयाँ किलोमा कारोबार भएको छ ।
ठूलो गोलभेँडा १ सय ३०, सानो स्थानीय गोलभेँडा १ सय २०, रातो आलु ८५, भारतीय रातो आलु ६२, प्याज अधिकतम १ सय ५ रुपैयाँ किलोमा कारोबार भएको समितिले जनाएको छ । ब्रोकाउली २ सय, कन्य च्याउ १ सय ५० तथा डल्ले च्याउ ३ सय रुपैयाँ किलोमा कारोबार भएको छ ।
खुद्रामा दोब्बर महँगो
थोकमै महँगो भएको तरकारी भाउ खुद्रामा झन् छोइ नसक्नु छ । थोकमा २ सय रुपैयाँ किलो रहेको मटरकोसा खुद्रामा किन्दा ४ सयभन्दा बढी पर्छ ।
त्यस्तै थोकमा १ सय रुपैयाँ किलोको तिते करेला अहिले खुद्रा बजारमा २ सयसम्म परेको छ । टमाटर, च्याउको मूल्य पनि दुई गुणासम्म महँगो भएको छ ।
‘सामान्य वृद्धि हुँदा पनि साना तरकारी पसल, खुद्रा तरकारी पसलले दोब्बरभन्दा बढी वृद्धि गर्नुपर्छ, किनभने यसमा घाटा पनि धेरै हुन्छ, एकैदिन तरकारी धेरै बिग्रिन्छ । त्यही भएर महँगो भएको हो,’ जडिबुटी बजारका तरकारी व्यापारी भन्छन्, ‘अहिले तरकारी अधिकांश दुई दिन पुरानो भइसकेको हुन्छ, हामीले थप एकदिन राख्दा २० प्रतिशत नोक्सान हुन्छ, त्यही भएर खुद्रामा झन् महँगो भएको हो ।’
भारतबाट आएन तरकारी, टनेल खेतीमा भएन राम्रो उत्पादन
तरकारी तथा फलफूल व्यवसायी महासंघ अध्यक्ष खेम घिमिरेका अनुसार अहिले भारतबाट तरकारी आयात कम हुँदा मूल्य उच्च भएको हो ।
‘भारतमा अहिले तरकारीको मूल्य एकदम उच्च छ, जसले गर्दा नेपालमा तरकारी आउन छाडेको छ । त्यसै कारण अहिले तरकारी भाउ अस्वाभाविक भएको हो,’ घिमिरेले भने ।
उनका अनुसार नेपालमा दैनिक १ हजार ८ सय टन तरकारी र ७ सय टन फलफूल खपत हुने अनुमान छ । जसमध्ये ४० प्रतिशत भारत सहित देशबाट आयात हुने गरेको छ । भारतबाट तरकारी नआउँदा नेपाली भान्छामा प्रभाव पर्छ ।
घिमिरेले उच्च मूल्य वृद्धि हुनुको अर्को कारण आन्तरिक उत्पादनमा समस्या भएकाले तरकारीको भाउ बढेको हो ।
‘बाढीपहिरोपछि केही तरकारी बिग्रियो भने टनेल खेतीमा टमाटर उत्पादन कम भयो, यही बेला भारतले तरकारी रोक्दा मूल्यवृद्धि उच्च भएको हो,’ उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।