छोटो फिल्म ‘लापत्ता सन्तान’ प्रश्न गर्छ- के हामी बा आमालाई सेवा गर्न तयार छौं ?
काठमाडौं । यसअघि डार्क मुन, एक लभर, आराध्या, रित्तो गाउँ, हनिमुन लगायतका छोटा फिल्म निर्देशन गरेर चर्चामा आएका रामजी ज्ञवालीले नयाँ सर्ट फिल्म ‘लापत्ता सन्तान’ दर्शकमाझ ल्याएका छन् ।
यो फिल्मले पछिल्लो समय सन्तानको अपहेलनाको शिकार बनेर वृद्धाश्रममा बस्न बाध्य नेपाली ज्येष्ठ नागरिकको कथा पेश गर्छ । सन्तानको लागि त्याग गर्ने अभिभावकको मर्मस्पर्शी कथा ज्ञवालीको यो छोटो फिल्ममा चित्रण छ ।
२० मिनेट लम्बाइको फिल्मले पछिल्लो समय ज्येष्ठ नागरिकको दुःखजिलो जीवनलाई प्रस्तुत गर्छ । तपाईंलाई पारिवारिक कथावस्तुका छोटा फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।
ठूला फिल्ममा समेत लोभलाग्दो अभिनयमार्फत दर्शकीय मन जितेकी रश्मीले यो छोटो फिल्ममा पनि दर्शकको मन जित्ने पक्का छ । भनिन्छ- फिल्मको लम्बाइभन्दा गहिराइ महत्वपूर्ण हो ।’
निर्देशक ज्ञवालीले छोटो फिल्मको शक्तिलाई बुझेरै होला, अहिलेको समयको यथार्थ मुद्दामार्फत अहिलेको पुस्तालाई कटाक्ष गर्ने साहस गरेका छन् ।
फिल्ममा रश्मी भट्ट, ओजस्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष निरौला, प्रमित प्रसाई र प्रनि प्रान्जल पौडेलको अभिनय छ । ज्ञवालीले यसअघि वैदेशिक रोजगारीले युवा विदेशिन बाध्य युवा र समाजको दुर्दान्त कथामा छोटो फिल्म ‘रित्तो गाउँ’ निर्देशन गरेका छन् ।
स्वास्थ्य चुनौतिलाई लिएर उनी नयाँ छोटो फिल्म ‘साइलेन्स टूर’ बनाउने उनको योजना छ । लामो तयारीपछि कथानक फिल्ममा समेत आउने उनको सोचाइ छ । ज्ञवालीले दुई दर्जन म्युजिक भिडियोमा समेत काम गरिसकेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।