Main

शेखरनिकट युवाहरु जिल्ला दौडाहामा, गगननिकट किन अटेनन् ?

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला निकटका युवा पुस्ताका नेताहरुले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको यात्रा गर्न लागेका छन् ।

‘युवा संकल्प यात्राः मेचीनगरदेखि महेन्द्रनगर’ नाम दिइएको उक्त यात्राको अगुवाइ नेता शेखर निकटका व्यक्तिहरुले गरेका छन ।

२३ कात्तिकमा झापाको मेचीनगरबाट सुरु हुने युवा संकल्प यात्रा ४ मंसिरमा महेन्द्रनगर पुगेर टुंगिने छ । यात्राका लागि मूख्यतः तराइका जिल्लालाई छनोट गरिएको छ ।

संकल्प यात्राको टोलीले २३ जिल्लामा छलफल र अन्तक्र्रिया गर्नेछ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा छलफल र अन्तर्क्रिया गर्ने भएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएका जिल्लामा छलफल गर्ने गरी स्थानहरु तोकिएको युवा संकल्प यात्राका अगुवा भूपेन्द्रजंग शाहीले जानकारी गराए ।

उनका अनुसार कांग्रेसका युवा नेताहरुको सामूहिक प्रयासमा अभियान सुरु गरिएको हो । तथापि, यात्राको अगुवाइ गर्नेहरुमा नेता डा.कोइराला निकटका युवा र विद्यार्थी नेताहरु छन् ।

यसमा विगतमा शेखरसँग महामन्त्री गगन थापासँग जोडेर भन्ने गरिएको शेखर–गगन समूहका गगन पक्षधर युवा पुस्ताका नेता भने सम्मिलित देखिँदैनन् ।

शेखरनिकट भूपेन्द्रजङ शाही, रञ्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका रानामगर, नरेश यादव, सेख ओकिल, मेदनी सिटौला, चन्द्रादेवी जोशी, राधिका हमाल, उदिराम खड्का, लेलिया विश्वकर्मा, सुनिल थापा, विनोद खनाल लगायतको अगुवाइमा यात्रा तय भएको छ ।

यात्रा मूलतः युवाका मुद्धामा केन्द्रित हुने जानकारी गराइएको छ । युवालाई राजनीतिक आन्दोलनको मात्रै नभएर आर्थिक विकासको पनि साझेदार बनाउने उद्देश्य युवा संकल्प यात्रा गर्न लागिएको शाहीले जानकारी गराए ।

यात्राको उद्देश्यमा लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको उन्मुलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्द्धन लगायत राखिएको छ ।

यी उद्देश्य प्राप्त गर्न थालिएको अभियानमा किन गगन पक्षधर युवा समावेश गरिएनन् भन्ने प्रश्नको जवाफ भने अभियन्ताहरुले दिएका छैनन् । उनीहरुले यात्रामा समावेश गराउन खोजिएको तर्क दिए पनि कोही पनि गगन पक्षधर सामेल गराइएको देखिँदैन ।

अभियानका लागि १० बुँदे एजेण्डा तय गरिएको छ । युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मुलन र सुशासन, महँगी र मूल्यवृद्धि नियन्त्रण, सहकारी पीडितलाई तत्काल राहत र वचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही राखिएको छ ।

साथै, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व, नागरिकमैत्री सरकार, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत र नैतिक मूल्य मान्यतामा आधारित राजनीति माथि छलफल र अन्तर्क्रिया हुने अभियानका अगुवाहरुले जानकारी गराएका छन् ।

यात्राका दौरानमा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरेर पार्टीलाई बुझाउने यात्राका अगुवा शाहीले जानकारी गराए ।
युवा केन्द्रित यात्रामा पार्टीभित्रको एउटा समूहका नेताहरु मात्रै सम्मिलित हुँदा कांग्रेसभित्र यात्रा प्रति आशंकासमेत छ । आवरणमा युवाको यात्रा देखाएर फरक उद्देश्य हुनसक्ने कांग्रेसका एक नेताले सुनाए ।

‘शेखर डा. साबसँग कुरा भएर यात्रा सुरु गरिएको जस्तो लाग्छ । शेखर दाइले हिड्न भनेर यात्रा सुरु गरिएको देखिन्छ’, कांग्रेसका एक केन्द्रीय सदस्यले आशंका राखे । यात्राको अगुवाइ गर्ने शाही भने पार्टीमा सबै पक्षका नेताहरुसँग छलफल गरेर कार्यक्रम राखिएको दाबी गर्छन् ।

‘सबै जिल्लामा पार्टीका सबै पक्षलाई निम्ता गरिएको छ । सभापतिलाई भेटेर यही बारेमा कुरा गरें । महामन्त्री गगन थापासँग कुरा भयो’, शाहीले भने,‘पार्टीको आन्तरिक विषयमा यात्रामा कुरा गर्नेछैनौं । शेखर दाइको ग्राउण्ड रियालिटी बुझ्न हिँड्न लागेको भन्नु हावा कुरा हो ।’

पूर्वदेखि पश्चिमसम्म ३० जना भन्दा बढीले यात्रा गर्ने भएका छन् । २३ जिल्लाका नेता कार्यकर्तासँग संवादको अतिरिक्त सांगीतिक प्रस्तुति पनि हुने डा. कोइराला निकट विद्यार्थी नेता प्रेमिका रानामगरले जानकारी गराइन् । सांगीतिक कार्यक्रमको संयोजन गायिका राधिका हमालले गर्ने भएकी छन् ।

‘सांस्कृतिक कार्यक्रममा मार्फत सचेतना गराउने कार्य हुन्छ । यात्रामा कलाकारको टोली पनि हुन्छ’, यात्राका एक अगुवा प्रेमिका रानामगरले भनिन् ।

पार्टीको एक पक्षको अगुवाइमा कार्यक्रम राखिएपनि त्यसले नकरात्मक असर नगर्ने नेताहरु बताउँछन् । युवा उमेर समूहका साथीहरु युवाकै मुद्धा लिएर हिँड्नुलाई खराब नियतले सोच्नुनपर्ने एक केन्द्रीय सदस्यले बताए ।

ती केन्द्रीय सदस्यले भने, ‘अहिले पार्टीभित्र एकले अर्कोलाई नेगेटिभ कुरा गर्ने अवस्था छैन । युवा पुस्ताको कुरा गर्न साथीहरु हिंड्दा त्यो उमेर समूहको पक्षमा बोलिरहने गगन–विश्वप्रकाशलाई फाइदै हुन्छ ।’

महामन्त्री गगन थापा निकट नेताले अनलाइनखबरसँग बोल्दै शेखर समूहका युवाहरुको अभियानलाई लिएर सन्देहसहित स्वागत गरे । युवाका ज्वलन्त मुद्दा सम्बोधन गर्न अभियान थालिएको भए कोही झस्किनु नपर्ने, तर गुटगत मानसिकताबाट अघि बढेको पाइएमा त्यसको स्वभाविक प्रतिक्रिया उत्पन्न हुने ती नेताले भने ।

‘अभियानलाई हाम्रा साथीहरुबाट असहयोग हुने कुरै छैन, तर तल्लो तहमै गएर उहाँहरुले गुटगत क्रियाकलाप गरेको पाइए हामीलाई आफ्नो समूह सक्रिय गराउन कसैले रोक्न सक्दैन’, ती नेताले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button