Main

लेवान्डोस्कीको २ गोलमा बार्सिलोनाको सहज जित

२२ कात्तिक, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले आफ्नो लय कायम राख्दै दुई गोल गरेपछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगातार तेस्रो हो । यस्तै बेलग्रेडविरुद्धको दुई गोलपछि च्याम्पियन्स लिगमा लेवान्डोस्कीको गोल संख्या ९९ पुगेको छ । अब उनलाई च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्न एक गोल आवश्यक छ । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले मात्र च्याम्पियन्स लिगमा एक सय गोल पूरा गरेका छन् ।  ।

३६ वर्षीय लेवान्डवस्कीले यस सिजन सबै खाले प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन् ।

बेलग्रेडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले ४३औं र ५३औं मिनेटमा गोल गरेका थिए । त्यसअघि इनिगो मार्टिनेजले १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

२७औं मिनेटमा मातोम्पा एमभुम्पाले बेलग्रेडका लागि बराबरी गोल फर्काएपछि लेवान्डोस्कीको लगागातार दुई गोलपछि बार्सिलोनाले ३-१ को अग्रता बनाएको थियो । त्यसपछि कप्तान राफिन्हाले ५५औं र फर्मिन लोपेजले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

लगातार तेस्रो जितपछि बार्सिलोना ४ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

पहिलो खेलमै मोनाकोसँग पराजित भएको बार्सिलोनाले त्यसयता योङ ब्वाइज र बायर्न म्युनिखलाई पनि हराएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button