डब्लूटीओ महानिर्देशकमा ओकोन्जो इवेला नै दोहोरिने
२५ कात्तिक, काठमाडौं । विश्व व्यापार संगठन (डब्लूटीओ) को महानिर्देशकमा हाल नेतृत्वमा रहेकी एनगोजी ओकोन्जो इवेला नै दोहोरिने भएकी छन् ।
विश्व व्यापारको सर्वोच्च संस्थाको आगामी नेतृत्व छनोटका लागि आवेदन माग गरिएकोमा निर्धारित अवधि ८ नोभेम्बरसम्म ओकोन्जो इवेलाको मात्रै आवेदन परेको डब्लूटीओको जनरल काउन्सिलका अध्यक्ष तथा नर्वेका राजदूत पिटर ओल्बर्गले जानकारी गराएका छन् ।
महानिर्देशक नियुक्तिको आगामी प्रक्रियाबारे जानकारी दिँदै जाने राजदूत ओल्बर्गले जनाएका छन् ।
निर्धारित समयसम्म आवेदन दिने उम्मेदवारहरूले बाँकी तीन महिना सदस्य मुलुकहरूसँग आफ्नो योग्यताबारे छलफल गर्ने समय पाउने डब्लूटीओको महानिर्देशक छनोट प्रक्रियामा उल्लेख छ । त्यसको दुई महिनापछि जनरल काउन्सिलले नयाँ महानिर्देशक छनोट गर्नेछ । सो पदमा यसपटक ओकोन्जोको एकल आवेदन परेकाले उनी नै सो पदमा दोहोरिने सम्भावना छ ।
उनको अहिलेको कार्यकाल अर्को वर्ष ३१ अगस्त २०२५ मा सकिँदै छ । सन् २०२१ मा सो पदमा नियुक्त भएकी उनी डब्लूटीओको इतिहासमा पहिलो महिला प्रमुख र पहिलो अफ्रिकन प्रमुख हुन् । नाइजेरियाकी अर्थशास्त्री उनले सन् २०१२ मा विश्व बैंकको अध्यक्षमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।