Main

पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीबाट नरसुराको उम्मेदवारी

२ मंसिर, बुटवल । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओबादी केन्द्रबाट नरसुरा बुढा पुन मगरले उम्मेदवारी दर्ता गरेकी छन् ।

चुनावमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेर उम्मेदवारी दिएका छन् । पुथा माओवादीको बलियो आधार क्षेत्र मानिन्छ । सत्ता साझेदार दुई ठूला दलले माओवादीको गढ भत्काउन गठबन्धन गरेका छन् ।

दुई दलबीच भएको सहमतिअनुसार उपाध्यक्षमा कांग्रेसले उम्मेदवार उठाएको छैन भने वडाध्यक्षमा एमालेले उम्मेदवारी दर्ता गरेको छैन । एमालेकी उपाध्यक्ष उम्मेदवारले सूर्य चिह्न नभई कांग्रेसको रुख चिह्नमा मत माग्नेछिन् ।

आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी छन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस–एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार भूपेन्द्रा बुढा मगरले दोब्बर मत ल्याएर विजयी भएकी थिइन् ।

भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८१२ मत प्राप्त गरेका थिए ।

पुथामा ११ हजार १८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।

पालिका उपाध्यक्षसँगै पुथा उत्तरगंगाको वडा नं. २ मा एमालेकै जिल्ला कमिटी सदस्य जीवन रोकालाई साझा उम्मेदवार बनाइएको छ । रोका भने एमालेकै चुनाव चिह्नबाट उम्मेदवार बनेका छन् ।

वडा नं. २ का माओवादीबाट निर्वाचित जसबहादुर श्रीपालीको मृत्यु भएपछि उपचुनाव हुन लागेको हो । गत निर्वाचनमा श्रीपालीले २३४ र कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत प्राप्त गरेका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा पुन मगर र वडा अध्यक्षमा जगत घर्तीले उम्मेदवारी दर्ता गरेका छन् । नरपुरा दिवंगत गाउँपालिका उपाध्यक्ष भुपेन्द्राकी दिदी हुन् ।

गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट सुनिता बुढा, स्वतन्त्रबाट कोपिला पुन बुढा र मोहनभक्त बुढा गरी ५ जनाले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले जानकारी दिए । वडाध्यक्षमा भने कांग्रेस–एमाले गठबन्धन र माओवादी केन्द्रका २ जनाले मात्रै उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले उपाध्यक्ष र वडाध्यक्ष दुबै पदमा एक्लाएक्लै लड्दा हार्ने निश्चित भएर कांग्रेस एमालेले गठबन्धन गरेपनि माओवादी केन्द्रले नै जित्ने दावी गरे ।

‘एमाले उम्मेदवारले रुख चिह्न लिनु नै हारको संकेत हो’, बरालले भने, ‘पुथा माओवादीको गढ हो, सबै दल मिले पनि जित्न सक्दैनन् ।’

कांग्रेस जिल्ला सभापति केशरमान रोकाले दुवै दलले साझा उम्मेदवार बनाउने र साझा घोषणापत्रका आधारमा पालिका र वडाको चुनाव लड्ने सहमति अनुसार उम्मेदवारी दर्ता गरिएको बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button