Main

पुलिसको अपराजित यात्रामा ब्रेक लगाउँदै एनआरटी दोस्रो स्थानमा

२ मंसिर, काठमाडौं । नेपाल पुलिस क्लबको ९ खेलको अपराजित यात्रामा ब्रेक लगाउँदै एनआरटी ललित स्मृति एन्फा यू-१८ युथ लिग फुटबलको दोस्रो स्थानमा उक्लेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा एनआरटीले नेपाल पुलिस क्लबलाई ४-२ ले पराजित गरेको हो ।

लिगमा पहिलो हारको बावजुत पनि पुलिस १० खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमै छ । समान खेलबाट १९ अंक जोडेको एनआरटी दोस्रो स्थानमा उक्लेको हो ।

एनआरटीलाई जित दिलाउन इशान शाहले दुई तथा सन्तोष गोङ्ग्वा र विज्ञान खड्काले एक-एक गोल गरे ।

पुलिसका लागि साजन राज गौतमले दुई गोल गरे ।

सन्तोषले छैटौं मिनेटमै गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर त्यसको पाच मिनेटपछि नै साजनले पुलिसका लागि बराबरी गोल फर्काए । १८औं मिनेटमा साजनले नै व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले पहिलो पटक अग्रता बनायो । तर जोगाउन सकेन । ४०औं मिनेटमा इशानले एनआरटीका लागि बराबरी गोल गरे । त्यसको अर्को मिनेटमा विज्ञानले गोल गरेपछि एनआरटीले पहिलो हाफमै ३-२ को अग्रता बनायो । त्यसपछि इशानले ५२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

आइतबारै भएको अर्को खेलमा धव्रेन्द्र कुवँरको ह्याट्रिकमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई ४-१ को पुनरागमन जित निकालेको छ । जावलाखेलका लागि अर्को एक गोल प्रशान्त तामाङले गरे । त्यसअघि निस्पक्ष बरालले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन सकेन ।

जितपछि १० खेलबाट १४ अंक जोडेर जावालखेल छैटौं स्थानमा उक्लेको छ । आठौं हार व्यहोरेको सातदोबाटो ४ अंकसहित आठौं स्थानमै छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button