पूर्वसभामुख ढुंगानाप्रति सानोगौरचणमा श्रद्धाञ्जली, आर्यघाटमा अन्त्येष्टि
३ मंसिर, काठमाडौं । दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने भएको छ ।
श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका विशिष्ट व्यक्तित्व समेत सहभागी हुनेछन् ।
ढुंगानालाई दिने सम्मानबारे निर्णय गर्न आज बिहान ९ बजे मन्त्रिपरिषदको बैठक बस्दै छ ।
कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार निधन भएको थियो ।
ढुंगानाका भान्जा सुरज भट्टराईका अनुसार आज ११ बजेदेखि दुई घण्टासम्म सानोगौचरणमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
म्यानचेस्टर युनिभर्सिटीमा अध्यापनरत पूर्वसभामुख ढुंगानाका छोरा डा. निमेष पनि आज बिहान ११ बजे काठमाडौं आइपुग्दैछन् । त्यसपछि मात्र श्रद्धाञ्जली सभा गरिने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।