पर्यटनमन्त्री पाण्डेसँग सांसद बजगाईंले माफी मागे
५ मंसिर, काठमाडौं। संस्कृति, पर्यटन तथा उड्यनमन्त्री बद्री पाण्डेसँग नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा मन्त्री पाण्डेसँग आवेशमा आएर आफू बोलेको एवं सामाजिक सञ्जालमा लेखेको भनि उनले बजगाईंले माफी मागेका हुन् ।
महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुङ्गाना समेत रहेको छलफलमा बजगाईंले आवेशमा आएर अभिव्यक्ति दिनु गलत भएको बताएका थिए ।
मन्त्री पाण्डे र सांसद बजगाईंलाई अनुशासन समितिले केन्द्रीय कार्यालय बोलाएको थियो । पार्टी केन्द्रीय कार्यालयमा सांसद बजगाईंले आत्मआलोचना सहितको स्पष्टीकरण बुझाएका छन् ।
बजगाईंले बुधबार विहान सामाजिक सञ्जालमा आफ्नो बोली फिर्ता लिएको लेखेका थिए । ‘मैले लगाएको आरोपले वहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु,’ सामाजिक सञ्जालमा बजगाईंले लेखेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।