Main

आइपीएल विजेता कटिङको अनुभवले लुम्बिनीलाई दिलाउला उपाधि ?

बेन कटिङ लुम्बिनी लायन्सले अनुबन्ध गरेको सबैभन्दा ठुलो खेलाडी हो भन्दा फरक पर्दैन । अस्ट्रेलियाका ३७ वर्षीय सफल अलराउण्डर कटिङसँग विश्वका धेरै फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।

उनले अस्ट्रेलियाकै बिग ब्यास लिग (बीबीएल) धेरै समय खेलेको भएपनि उनको उपलब्धिमध्ये सबैभन्दा ठुलो चाहिँ आइपीएलको उपाधि जितेको कुरालाई मान्न सकिन्छ । उनले सनराइजर्स हैदराबादबाट आइपीएल जितेका छन् ।

सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको उपाधि एकपटक मात्र जितेको छ । सन् २०१६ मा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसिबी)लाई हराउँदै हैदराबादले आइपीएल जितेको थियो । उक्त टोलीको कप्तानी अस्ट्रेलियाका डेभिड वार्नरले गरिरहेका थिए भने फाइनल खेलको म्यान अफ दि म्याच थिए अस्ट्रेलियाकै बेन कटिङ ।

सन् २०१६ को आइपीएल फाइनलका क्रममा बेन कटिङ

फाइनल खेलमा कटिङले टोलीका लागि फिनिसिङ गर्दै १५ बलमा अविजित रहँदै बनाएको ३९ रनले टिमको स्कोर २०० पार गरेको थियो । हैदराबादले पहिलो इनिङको अन्तिम ओभरमा २४ रन जोडेको थियो जसमध्ये कटिङले मात्रै २३ रन बनाएका थिए । सो क्रममा उनले ३ छक्का र १ चौका प्रहार गरेका थिए । एउटा छक्का रङ्गशालाको छतबाहिर पुगेको थियो जुन् ११७ मिटरको थियो र प्रतियोगिताकै सबैभन्दा ठुलो छक्का मानिएको थियो ।

त्यसैगरी उनले दोस्रो इनिङमा २ विकेट पनि लिएका थिए जसमा आरसिबीका ओपनर क्रिस गेल र केएल राहुलको विकेट सामेल थियो । यी दुई विकेट यस हिसाबले पनि महत्वपूर्ण थियो किनकि उनले ओपनिङमा जमिरहेका क्रिस गेल र विराट कोहलीको साझेदारी तोडेका थिए भने अर्कोतर्फ राहुलजस्तो म्याच विनिङ प्लेयरको विकेट लिएका थिए ।

२०९ रनको लक्ष्य पछ्याउने क्रममा गेल र कोहलीले विस्फोटक ब्याटिङ गरिरहेका थिए । ११५ रनको ओपनिङ साझेदारी तोड्दै उनले गेललाई आउट गरेका थिए । त्यसको केही ओभरमा उनले राहुललाई पनि बोल्डआउट गरे जसले गर्दा आरसिबी दबाबमा आएको थियो ।

उनै बेन कटिङले अब नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा लुम्बिनीको टोलीबाट खेल्न‍े छन् । अस्ट्रेलियाका स्टार अलराउण्डर कटिङले अब लुम्बिनीको टोलीमा आफ्नो अन्तर्राष्ट्रिय अनुभवको सदुपयोग गर्ने छन् ।

कटिङको क्रिकेट यात्रा

सन् १९८७ मा जन्मिएका कटिङले दाँयाहाते ब्याटिङ र मिडियम पेस बलिङ गर्छन् ।

सन् २००७ मा अस्ट्रेलियाको घरेलु क्रिकेट पुरा कपमा खेल्दै फर्स्ट क्लास क्रिकेटमा डेब्यू गरेका उनले पहिलो खेलमा नै तीन विकेट लिएका थिए । त्यसैगरी २००९-१० को प्रतियोगितामा सबेभन्दा बढी विकेट लिएका उनले अस्ट्रेलियाको टेस्ट टोलीमा स्थान पाउने आशा गरेपनि टेस्ट टोलीमा भने अटाएनन् ।

सन् २०१३ मा अस्ट्रेलियाका लागि एकदिवसीय र टी२०आईमा डेब्यू गरेको भएपनि उनी बारम्बारको चोटका कारण नियमित रूपमा टोलीमा भने परेनन् । अस्ट्रेलियाका लागि धेरै मौका नपाएका उनले एकदिवसीयमा चार खेल खेल्दा ५३ रन र ५ विकेट तथा टी२०आईमा ७ खेलमा ४० रन बनाउँदा ३ विकेट लिएका छन् ।

यद्यपी उनको अग्लो कद र तीव्र बाउन्सर बल अनि तल्लोक्रममा आएर ठुला शट खेल्ने क्षमताले उनलाई लिग क्रिकेटहरूमा स्टारडमको बाटोमा भने अघि बढाउँदै थियो । उनले धेरै फ्रेन्चाइज लिगहरू खेलिसकेका छन् र टी२० क्रिकेटमा सफल अलराउण्डरको रूपमा आफूलाई स्थापित गराइसकेका छन् ।

अस्ट्रेलियाका लागि ७ टी२०आई मात्र खेलेको भएपनि उनले सबैखाले गरेर २१२ टी२० खेल खेलेका छन् र २९२१ रन बनाएका छन् । उनी १४५ भन्दा माथिको स्ट्राइक रेटले खेल्ने गर्छन् । त्यसैगरी मिडियम पेस बलिङ गर्ने उनले सबैखाले टी२०मा १३७ विकेट पनि लिएका छन् ।

अस्ट्रेलियाको चर्चित बिग ब्यास लिगदेखि आइपीएलसम्म खेलेका कटिङले बंगलादेश, श्रीलंका र क्यारेबियन प्रिमियर लिगसहित ग्लोबल टी२० लिग पनि खेलेका छन् ।

उनलाई सुरूमा २०१४ मा आइपीएल टोली राजस्थान रोयल्सले अक्सनबाट किनेको भएपनि धेरै खेलमा मौका भने पाएनन् किनभने पेस बलिङमा उनीभन्दा अन्यलाई प्राथमिकता दिइएको थियो । तर त्यसपछि उनलाई सनराइजर्स हैदराबादले किनेको थियो जहाँबाट उनले राम्रो प्रदर्शन गर्दै टोलीलाई उपाधि नै दिलाउन महत्वपूर्ण भूमिका खेले ।

सन् २०१८ को अप्रिलमा उनले फर्स्ट क्लास र लिस्ट ए क्रिकेटबाट सन्यासको घोषणा गर्दै बाँकी खेल जीवन टी२० क्रिकेटमा केन्द्रीत गर्ने जनाएका थिए । सोही वर्षको अफगानिस्तान प्रिमियर लिगमा उनले लियोपार्ड्सबाट खेल्दै प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

उनलाई सन् २०१८ को आइपीएलका लागि मुम्बई इन्डियन्सले अनुबन्ध गरेको थियो । मुम्बईबाट उनले दुई सिजन गरेर १२ खेल खेल्दा ११४ रन बनाउँदै ३ विकेट लिए । सन् २०२१ मा कोलकाता नाइट राइडर्सले अनुबन्ध गरेको भएपनि मौका भने पाएनन् ।

बेन कटिङ

कटिङले बिग ब्यास लिगमा पनि ब्रिसबेन हिट र सिड्नी थन्डरको टोलीबाट खेल्दै शानदार प्रदर्शन गरेका छन् । उनले बीबीएलमा मात्रै १७०० भन्दा धेरै रन बनाएका छन् जसमध्ये ब्रिसबेनबाट २०१२ देखि २०१९ सम्म खेल्दा १२०० रन बनाएका छन् । त्यसैगरी उनले ७१ विकेट पनि बीबीएलमा मात्र लिएका छन् ।

त्यसैगरी उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेका छन् भने अफगानिस्तान प्रिमियर लिगमा नङगर्घार लियोपार्ड्सबाट तथा पाकिस्तान सुपर लिगमा क्‍वेट्टा ग्लाडिएटर्स, पेशावर जाल्मी र कराँची किङ्सबाट खेलेका छन् । त्यस्तै बंगलादेश प्रिमियर लिगमा सिलहेट स्ट्राइकर्सबाट पनि उनले खेलेका छन् ।

कटिङले अस्ट्रेलियाकी मोडल एरिन हल्यान्डसँग विवाह गरेका छन् । हल्याण्डले सन् २०१३ मा मिस वर्ल्ड अस्ट्रेलियाको उपाधि जितेकी थिइन् भने सोही वर्षको मिस वर्ल्डमा शीर्ष १० भित्र पनि परेकी थिइन् ।

मोडलिङबाहेक उनले गायन, टिभी शो चलाउनेदेखि क्रिकेटमा कमेन्ट्री पनि गर्छिन् । उनले पाकिस्तान सुपर लिगको विभिन्न सिजनमा कमेन्ट्री पनि गरिसकेकी छन् । कतिपय नेपाली क्रिकेट समर्थकले कटिङसँगै उनकी पत्नी हल्याण्ड पनि नेपाल आउने अनुमान गरेका छन् ।

कटिङको आगमनले लुम्बिनीलाई फिनिसर र पार्ट टाइम मिडियम पेस बलिङको विकल्प दिनेछ । उनले बाउन्सरमार्फत ब्याटरहरूलाई दु:ख दिन सक्छन् । त्यसैगरी विस्फोटक फिनिसिङमार्फत लामो छक्का पनि प्रहार गर्न सक्नेछन् ।

लुम्बिनी लायन्ससँग जोडिएपछि कटिङले भनेका थिए, ‘नेपाल प्रिमियर लिगका लागि लुम्बिनीसँग जोडिन पाउँदा खुसी र उत्साहित छु, आशा छ हामीले राम्रो खेल खेल्नेछौं।’ त्यस्तै उनले भिडियोमार्फत तिहारको बेला शुभकामना समेत दिएका थिए ।

नेपालमा पहिलोपटक आउन लागेका कटिङले हैदराबादलाई आइपीएल जिताएजसरी लुम्बिनीलाई पनि एनपीएलको उपाधि दिलाउलान् त ?

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button