Main

प्रजनन् स्वास्थ्य अधिकार संरक्षणमा जोड   

काठमाडौं । नेपाल प्रजनन् स्वास्थ्य अधिकारका क्षेत्रमा सबल कानुनी व्यवस्था भएको देशका रूपमा स्थापित भएकाले यसलाई अझ सुदृढ बनाइनुपर्नेमा जोड दिइएको छ ।

नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु भएको २५ वर्ष लागेको अवसरमा महिला, कानुन र विकास मञ्च एवं सेन्टर फर रिप्रडक्टिभ राइट्सले शुक्रबार संयुक्त रूपमा आयोजना गरेको वृत्तचित्र प्रदर्शन तथा अनुभव आदानप्रदान कार्यक्रममा नेपालको संविधान, २०७२ को ३८ (२) मा व्यवस्था भएको प्रजनन् स्वास्थ्य अधिकारका व्यवस्थालाई सही रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालमा प्रजनन् स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुनी व्यवस्था गर्न सहमति जुटेको बताए । सुरक्षित गर्भपतन सेवा चाहिनेका लागि यसको उपलब्धताको सुनिश्चितता हुनुपर्ने उनले बताए ।विपन्न महिलाले पनि सुरक्षित गर्भपतन सेवा पाउनुपर्छ भन्ने मान्यतालाई सर्वोच्च अदालतले स्थापित गरिदिएको पूर्वप्रधानन्यायाधीश श्रेष्ठले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण शाखाका प्रमुख गौरी प्रधानले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने जनशक्ति तयार पार्न मन्त्रालयले तालिम दिने गरेको जानकारी दिइन् । १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने गरी तीन हजार जनालाई तालिम दिइएको देशभर औषधिबाट गर्भपतन सेवा दिन एक हजार ७०० केन्द्र रहेको उनले बताइन् ।

सुरक्षित गर्भपतनसम्बन्धी ऐनलाई संसदले २०५८ चैत २८ गते पारित गरेको थियो । २०५९ असोज १० गते ऐन प्रमाणीकरण भए पनि कार्यान्वयनमा आएको थिएन । यसै क्रममा गर्भपतन गराएकै कारण १२ जना जेल परेपछि २०६० पुस १० गतेदेखि कार्यान्वयनमा आउन थालेको थियो ।

कार्यक्रममा कृपा संस्थाका आनन्द तामाङले सुरक्षित गर्भपतनको अर्को विकल्प नभएको बताए । आयोजक संस्था सेन्टर फर रिप्रडक्टिभ राइट्सका प्रवीना बज्राचार्यले जिल्लामा सक्रिय हुनुपर्ने प्रजनन स्वास्थ्य सेवा समन्वय समिति कार्यान्वयनमा आउन नसकेको बताइन् ।

(एफडब्लुएलडी) का कार्यकारी निर्देशक सविन श्रेष्ठले अहिले सीमित अवस्थामा मात्र २८ हप्तासम्मको गर्भपतन गराउने नीतिलाई परिमार्जन गरी महिलाको जीवन रक्षा गर्नुपर्नेमा जोड दिए । सो अवसरमा फिलिपिन्समा महिला प्रजनन् अधिकार र स्वास्थ्य अधिकारका लागि काम गरिरहेकी क्लारा रिटा र भारतकी स्वतन्त्र कानुन व्यवसायी अनुभा रस्तोगीलगायतले आ–आफ्नो देशमा सुरक्षित गर्भपतन सेवासम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button