Main

प्रहरी हेडक्‍वार्टरमा गुञ्जियो सन्दीपको हाँसो

काठमाडौं । हास्य कलाकार सन्दीप क्षेत्रीले प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरीलाई हास्य प्रस्तुतिले मनोरञ्जन गराएका छन् । आइतबार बेलुका प्रहरी हेडक्वार्टरको प्रेक्षालय हाँसोले गुञ्जियो ।

‘लाफ्टर फर लाइफ’ नाम दिइएको कार्यक्रमको उद्देश्य सामाजिक योगदान दिने प्रहरीलाई धन्यवादको रुपमा रहेको सन्दीपले जनाए । उनको कमेडी हेर्न र सुन्न प्रेक्षालय खचाखच थियो जहाँ जनपद, ट्राफिक र सशस्त्र प्रहरीका ५०० भन्दा धेरै विभिन्न पदाधिकारी सहभागी थिए ।

डेढ घण्टा जति सन्दीप र उनको ब्यान्डले मनोरञ्जन दिएका थिए । प्रहरीको गाह्रोसाह्रो, सेवासुविधा र सुधार्नुपर्ने विषयवस्तुमा सन्दीपले व्यंग्य गर्दै रमाइलो गरे । एआईजी टेक राईले सन्दीपलाई प्रहरीको सद्भावना दूत बनाउनुपर्ने बताए ।

उक्त अवसरमा प्रहरीको तर्फबाट सन्दीप र ब्यान्डलाई सम्मान समेत प्रदान गरियो । ‘हामी एकदमै उत्साहित छौं । समुदायमा योगदान पुर्‍याउनेप्रतिको धन्यवाद र समर्पण हो जस्तो लाग्छ’ सन्दीपले भने । नेपाल प्रहरीको मुख्यालयमा प्रहरीलाई हँसाउने यो पहिलो कार्यक्रम रहेको उनले बताए । प्रहरीको श्रव्यदृश्य विभागले कार्यक्रम संयोजन गरेको थियो ।

‘उहाँहरु काममा निकै खटिनुहुन्छ । एकछिन भएपनि रिल्याक्स होस् भनेर हामीले कार्यक्रम गरेका हौं’ सन्दीपले भने । ‘लाफ्टर फर लाइफ’को यो तेस्रो संस्करण हो । यसअघि व्यायाम र मेडिकल क्षेत्रमा लागेकाको सम्मानमा कार्यक्रम गरिएको थियो ।

आगामी संस्करण पारालम्पियनलाई केन्द्रित गर्दै खेलुकद क्षेत्रमा लागेकालाई समर्पित गर्ने योजना छ । यसबाहेक युवा राजनीतिज्ञलाई पनि केन्द्रित गरेर कार्यक्रम ल्याउने तयारी छ ।

‘जुन विधाका मान्छेलाई समावेश गर्छौं, त्यही विधाका राम्रा र रमाइला कुराहरु गर्न पाउँदा इन्जोय महसुस गर्नुहुन्छ’ सन्दीपले भने । नेप्से बुलको सामाजिक दायित्वअन्तर्गत यो कार्यक्रम भइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button