Main

माइकल लेभिटको नेपाल संयोग : डेब्यू, शतक अनि विश्व कीर्तिमान

१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज क्लब काठमाडौं गुर्खाजले अनुबन्धन गरेका ‘डच’ खेलाडी माइकल लेभिटको नेपाल संयोग गज्जबको छ ।

२१ वर्षीय डच अल राउण्डर एकदिवसीय (ओडीआई) डेब्यूदेखि टी–२०आई डेब्यू र अन्तराष्ट्र्रिय फ्रेन्चाइज सबैमा नेपाल जोडिएको छ । १९ जुन २००३ मा जन्मिएका युवा ब्याटर लेभिटले त्रिविस्थित कीर्तिपुर मैदानमा नै ओडीआईमा डेब्यू गरेका थिए ।

१७ फ्रेबुअरी २०२४ मा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिविस्थित कीर्तिपुर मैदानमा ओडीआईमा नेपालविरुद्ध खेल्दै अन्तराष्ट्रिय ओडीआईमा डेब्यू गरे । तर उनको ओडीआई डेब्यू व्यक्तिगत र टीमको रुपमा भने खराब रह्यो । ओपनिङ ब्याटरको रूपमा डेब्यू गरेका लेभिट शून्य रनमै आउट भएका थिए । जम्माजम्मी ३ बलको सामना गरेका लेभिट सोमपाल कामीको बलमा क्याचआउट भएका थिए ।

त्यतिबेला नेदरल्याण्डस्ले जम्मा १३७ रनको टार्गेट दिएको थियो । २०८ बल बाँकी छँदै १५.२ ओभरमै लक्ष्य भेट्टाएको नेपाल ९ विकेटले विजयी भयो । लेभिटको ओडीआई डेब्यू सुखद रहेन ।

यसको एक सातापछि २८ फ्रेबुअरी २०२४ त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालविरुद्ध नै त्रिवि क्रिकेट मैदानमा उनले टी–२०आईमा डेब्यू गरेका थिए ।

उनको ओडीआई र टी–२०आई डेब्यू नेपालविरुद्ध त्यो पनि त्रिविस्थित कीतिपुर मैदानमै थियो । ओडीआई डेब्यू खराब रहे पनि टी–२०आई डेब्यू भने लेभिटका लागि सुखद् रह्यो ।

३६ बल खेल्दै ५४ रन जोड्ने क्रममा उनले ५ चौका र ३ छक्का हिर्काएका थिए । नेदरल्याण्ड्सका लागि उनले बनाएको ५४ रन नै सबैभन्दा उच्च थियो । डेब्यूमै हाफ सेन्चुरी बनाएका लेभिटको टिमले त्यतिबेला २ रनको रोमाञ्चक जित निकालेको थियो ।

यतिमात्रै होइन नेपालविरुद्ध खेलेको भोलिपल्टै कीर्तिपुर मैदानमै २९ फ्रेबुअरीमा लेभिटले नामिबियाविरुद्ध शतक नै हाने । ६२ बलको सामना गरेका उनले ११ चौका र १० छक्काको मद्दतमा १३५ रन हानेका थिए । टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै इनिङमा बढी रन हान्नेको उनी विश्वको सातौं पोजिसनमा छन् । डेब्यू गरेको दोस्रो खेलमै १३५ रन बनाउने उनी पहिलो डच खेलाडी बनेका थिए ।

त्यतिबेला उनले विश्व कीर्तिमान समेत राखेका थिए । युवा ओपनर लेभिट र साइब्राण्ड एंगलब्रेक्टको जोडीले विश्व कीर्तिमान बनाएको थियो । दोस्रो विकेटका लागि लेभिट र एंगेलब्रेक्टको जोडीले विश्व कीर्तिमान १९३ रनको साझेदारी गरेको थियो । त्यतिबेला यो नै टी–२० आईमा दोस्रो विकेटका लागि भएको उच्च साझेदारी थियो ।

यसभन्दा पहिलो यो रेकर्ड स्कटल्याण्डका ओजे हेयर्स र ब्रेन्डन म्याकुलेनको नाममा थियो । सन् २०२३ मा उनीहरुले इटालीविरुद्ध दोस्रो विकेटका लागि १८३ रनको साझेदारी बनाएका थिए । अहिले यो लेभिट र एंगेलब्रेक्टको साझेदारी पनि तोडिएको छ । यो भन्दा बढी भारतका सामसन र तिलक बर्माले दक्षिण अफ्रिकाविरुद्ध १५ नोभेम्बर २०२४ मा हानेको २१० रनको पार्टनरसीप नै सबैभन्दा बढी हो । लेभिट र एंगेलब्रेक्टको कीर्तिमान अहिले दोस्रो नम्बरमा छ ।

उनीहरुको उत्कृष्ट प्रदर्शनमा नेदरल्याण्ड्सले त्यतिबेला नामिबियाविरुद्ध २४८ रनको लक्ष्य दिएको थियो । यो नै नेदरल्याण्डस्को टी–२० आईको उच्च योगफल हो । यसअघि नेदरल्याण्डस्ले टी–२० आईमा सन् २०२१ मा नेपालविरुद्ध २०९ रन बनाएको थियो ।

त्रिवि मैदानमा चम्किएका उनी सन् २०२४ को आईसीसी टी–२० विश्वकपमा पनि नेदरल्याण्ड्सको स्क्वाडमा पनि परेका थिए ।

१७ टी–२० खेलेका उनले ५५२ रन बनाएका छन् । ९ ओडीआईमा उनले १९६ रन बनाएका छन् । दायाँ हात अलराण्डर लेभिट फास्ट बलिङ गर्छन् । उनले ओडीआईमा १ र टी–२० मा २ विकेट लिएका छन् ।

कीर्तिपुर मैदानमा डेब्यू गरेर यही चम्केका लेभिट अहिले एनपीएलको टिम काठमाडौं गुर्खाजमा आबद्ध भएका छन् । उनी आइतबार काठमाडौं पनि आइसकेका छन् ।

लेभिटसँगै काठमाडौं गुर्खाजमा इंग्ल्याण्डका नाथन सोउटर, इंग्ल्याण्डकै स्टेफन इस्किनाजी, इंग्ल्याण्डकै डौथवेट र नामिबियाका एरासमस अनुबन्धित भएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button