Main

‘पुँजीबजारलाई नयाँ उचाइमा पुर्‍याउने सपना छ’

११ मंसिर, काठमाडौं । विभिन्न बैंक तथा वित्तीय संस्था तथा व्यावसायिक प्रतिष्ठानहरुमा अनुभव हासिल गरेका सन्तोषनारायण श्रेष्ठलाई नेपाल सरकारले सोमबार नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त गर्‍यो ।

श्रेष्ठले नेपाल एक्सप्रेस फाइनान्स तथा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको संस्थापक अध्यक्ष भएर काम गरिसकेका छन् । उनले नेपाल विद्युत प्राधिकरणको सञ्चालक भएर काम गरेको पनि अनुभव छ ।

काठमाडौं विश्वविद्यालयबाट एमबीए र काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बीबीए गरेका श्रेष्ठ अन्य केही निजी कम्पनीका सञ्चालक भएर पनि काम गरेका थिए ।

धितोपत्र बोर्डमा उनका प्राथमिकतालगायत विषयमा अनलाइनखबरले श्रेष्ठसँग गरेको कुराकानीः

धितोपत्र बोर्डमा अध्यक्ष खालि भएको १० महिनापछि तपाईं नियुक्त हुनुभएको छ । बोर्डमा तपाईंका कार्ययोजना चाहिँ के हुन् ?

तपाईंले भनेजस्तै धितोपत्र बोर्डमा लामो समय अध्यक्ष नहुँदा पाइपलाइनमा धेरै काम बसेको छ भन्ने मलाई पनि जानकारी छ । ती कामलाई विस्तारै अघि बढाउने हो । मेरो प्रमुख ध्यान पुँजीबजारलाई दिगो हिसाबले विकास गर्ने भन्ने नै हुन्छ । त्यसलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर काम गर्ने छु । यसका साथै महत्वका हिसाबले पनि काम गर्ने सोच बनाएको छु ।

लगानीकर्ताको हित मेरो पहिलो प्राथमिकता हो । हाम्रोमा पुँजीबजार भनेर सेयरबजार मात्रै सञ्चालनमा छ । तर यसको क्षेत्र ठूलो छ । सेयर बजार पुँजीबजारको सानो हिस्सा मात्रै हो । हामीले समग्र पुँजीबजारलाई नै विकास गर्नुपर्छ । त्यसले नै दिगो आर्थिक विकासमा योगदान गर्छ । यसैलाई प्राथमिकता दिँदै म अघि बढ्छु ।

१० महिना बोर्डको नेतृत्व खालि हुँदा ७५ भन्दा बढी कम्पनीको आईपीओ रोकिएको छ । अन्य धेरै काम हुन सकेका छैनन् । यी विषयहरु कसरी अघि बढ्छन् ?

यी कामहरु सम्पन्न गर्न पक्कै पनि ठूलो चुनौती छ । मैले कार्यभार सम्हाल्ने बित्तिकै बोर्डको टिमसँगको साथमा यसमा के कसरी अघि बढ्न सकिन्छ भनेर लाग्नेछु । यसलाई चाँडै टुंग्याउन सकिन्छ भन्ने लाग्छ ।

नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघिल्लै नेतृत्वका पालामा अघि बढेको छ । यसमा मन्त्रिपरिषद्ले अध्ययन पनि गराएको छ । नयाँ लाइसेन्स दिने विषयमा तपाईंको पोजिसन के हो ?

अध्ययन भएको विषयमा मैले पनि बाहिरबाट सुनेको छु । बोर्डमा यस सम्बन्धी विषय प्रवेश गरेर केही समयपछि रोकिएर बसेको छ । मैले बुझेसम्म यस विषयमा नेपाल सरकारले निर्णय गर्न बाँकी नै छ । यसमा नेपाल सरकारले जे निर्णय गर्छ त्यही अनुसार अघि बढ्ने हो ।

नेपालमा इक्विटी बजार मात्रै छ । कमोडिटी मार्केट सञ्चालन हुन सकेको छ । बोन्ड मार्केटको विकास हुनै बाँकी छ । यसमा तपाईंको कार्ययोजना के हुन् ?

वित्तीय बजारमा मनी मार्केट र क्यापिटल मार्केटको ठूलो भूमिका रहन्छ । नेपालमा मनी मार्केट अर्थात् बैंकिङ बजारमा अलि विकसित छ । धितोपत्र बजारको विकास त्यति हुन सकेको छैन । धितोपत्र बोर्ड अन्तर्गत पनि सेयरबजारमा मात्रै सीमित भएको देखिन्छ । यसमा धेरै कुरा गर्नुपर्ने आवश्यकता छ ।

कमोडिटी बजार सञ्चालनको विषय अघि बढेर फेरि रोकिएर बसेको छ । त्यसलाई पनि अघि बढाउने छु । बोन्ड बजारको धेरै ठूलो भूमिका रहन्छ देशको आर्थिक विकासमा पुँजी संकलन गर्नका लागि । यसमा निजी क्षेत्रको मात्रै होइन कि सरकारी बोन्ड मार्केटलाई उपयोग गर्न सकिन्छ । सरकारलाई चाहिने आर्थिक स्रोत जुटाउन यसले धेरै सहयोग गर्छ । यो बजार विकासतर्फ जानुपर्छ भन्ने मेरो बुझाइ छ ।

लगानीकर्ताको हित र सुरक्षालाई प्राथमिकता दिन्छु भन्नुभयो । तर नेपालमा नियमन कमजोर भएका धेरै कम्पनी पुँजीबजारमा छन् । यो समस्या समाधान गर्दै लगानीकर्ताको सुरक्षामा तपाईंले के गर्नुहुन्छ ?

तपाईंले भनेजस्तै पुँजीबजारको कानूनी संरचनामा धेरै काम गर्नुपर्ने छ । कानूनी संरचनालाई बलियो बनाउँदै लैजानुपर्छ । यो निरन्तर चलिरहने प्रक्रिया हो । तर अहिले हामीले जेजस्ता चुनौती सामना गरिरहेका छौं त्यसलाई सम्बोधन गर्दै अघि बढ्नेछौँ ।

तर यो एकैपटक हुने चिज होइन । कुनै चिज तत्कालै गर्नुपर्ने छन् कतिपयलाई समाधान गर्दै अघि बढ्नुपर्ने छ । मेरो प्राथमिकता भनेको पारदर्शी र दिगो पुँजीबजार बनाउनु हो ।

तपाईंको नियुक्तिलाई लिएर विवादहरु पनि भए । यसमा राजनीतिक दलहरुबीच आरोप प्रत्यारोप पनि चले । तपाईं योग्य नै हो भन्ने कुरा कसरी प्रमाणित गर्नुहुन्छ ?

ऐन कानूनले मागेका सम्पूर्ण योग्यता पुगेर नै म धितोपत्र बोर्डको अध्यक्षमा प्रतिस्पर्धा गरेको हो र त्यही आधारमा नियुक्ति पाएको हुँ । मेरो अनुभव र शिक्षा दुवैका हिसाबले म यो पदका लागि योग्य छु । मेरो नियुक्तिलाई लिएर निकालिएका विवादका विषयमा मेरो केही भनाइ छैन । अब लगानीकर्ताको हक हितका लागि अघि बढ्ने हो । त्यसरी नै काम गर्न सकिन्छ भन्ने विश्वास हो ।

सिद्धान्तका आधारमा यो क्षेत्रलाई अघि बढाउने हो । पुँजीबजारलाई नयाँ उचाइमा पुर्‍याउने मेरो सपना हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button