Main

प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए सपथ

काठमाडौँ। राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्य र आयुक्तहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रमुख आयुक्त आचार्यले सपथ लिए भने आचार्यसमक्ष नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीले सपथ लिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो।

सपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताए।

उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छुट्याएर काम गर्नुपर्नेमा जोड दिए।

मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको बैठकले सिफारिस समितिको सिफारिका आधारमा उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो।

यही मङ्सिर २३ गतेदेखि आयाेगका अघिल्ला पदाधिकारीको कार्यकाल सकिएको थियो।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button