राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको उपाधि दोलखालाई

२८ पुस, ललितपुर । छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृति प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३-५ र ०-५ ले पराजित गर्यो । टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दाहाल र भक्तपुरका विकास चोकामीले बराबरी खेले ।
त्यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल अभिक शाहलाई पराजित गरे । यस्तै शनिबार नै भएको अर्को खेलमा मकवानपुर जिल्ला चेस संघलाई २-५ र १-५ ले पराजित गर्दै कोशी प्रदेश प्रतियोगितामा तेश्रो भएको छ ।
प्रतियोगिताको उपाधि जितेसँगै दोलखाले ट्रफीसँग २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता भक्तपुरले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गरेको कोशीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा राष्ट्रिय स्तरका उत्कृष्ट १९ क्लबले प्रतिस्पर्धा गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।