Main

डाक्टर टिएल कर्ण : शिशु बिक्री आरोपमा जिल्लाले थुन्यो, उच्चले छाड्यो

५ माघ, विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा जिल्ला अदालत मोरङको आदेशपछि कारागार चलान भएका चिकित्सकलाई उच्च अदालत विराटनगरले धरौटीमा छाडेको छ । विराटनगरका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल (टिएल) कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा छाडेको हो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले डा. कर्ण र सूर्यनारायण राजवंशीलाई बिहीबार जनही १ लाख रुपैयाँ धरौटीमा छोडने आदेश दिएको हो ।

आदेशपछि धरौटी बुझाएर आज छुटेको उच्च अदालत विराटनगरका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । अदालतले शिशुका बाबुगोविन्द राईलाई थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको छ ।

२४ असोजमा  मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालाशले ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका-४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षको लागि कारागार चलानको आदेश दिएको थियो ।

प्रेमिकाबाट जन्मिएको बच्चा बुबा गोबिन्दले लिएर जान नचाहेपछि डाक्टर कर्णले राजवंशीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । जिल्ला अदालतले डा. कर्ण शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईलाई पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।

मोरङको कटहरी-२ आदर्शटोलकी ३३ वर्षीय सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीय नर्स निर्मला यादव १ लाख र ४७ वर्षीय दिलमनी देवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।

भोजपुर हतुवागढी-४ का २७ वर्षीय गोविन्द राई र २६ वर्षीय प्रमिकाको सम्बन्धबाट १४ असारमा शिशु जन्मिएकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि अघिल्लो दिन उनीहरु  विराटनगर स्थीत डाक्टर कर्णको दिपेश मेडिकल हलमा आएका थिए ।

प्रसूति गराउनु पर्ने भन्दै डाक्टरले ग्रीनक्रस अस्पतालमा भर्ना गराएका थिए । गर्भवती युवतीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी-११ उल्लेख छ ।

शिशु जन्मिएपछि गोबिन्दले एनआइसीयूमा बच्चा राखेको छ भन्दै आमालाई लगेर इटहरीको एक होटलमा राखेका थिए । होटलबाट सुत्केरीलाई अलपत्र पारेर गोबिन्द फरार भएपछि उनकी प्रेमिका ३२ साउनमा प्रहरी कार्यालय पुगेकी थिइन् ।

प्रमिकाबाट जन्मिएको बच्चा गोबिन्दले लैजान नमानेपछि डाक्टर कर्णले मोरङको कटहरी-२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

सन्तान नभएपछि राजवंशीले बच्चा लिएर गएका थिए । बच्चा गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी-२ आदर्श टोलका राजवंशीको घरबाट ५ भदौमा जीवितै उद्धार गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई बिक्री गरेको  खुलेको थियो ।

प्रहरीले यस घटनामा ७ जनालाई पक्राउ गरेको थियो । तर पक्राउ परेकामध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा चलाएन्, अन्य ६ जनालाई भने मुद्दा चलाएको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका डाक्टर पक्राउ परेपछि  र अदालतको आदेशपछि पनि स्वास्थ्यको कारण देखाउँदै अधिकांश समय अस्पतालमा नै बसेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button