सिटिजन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो
१२ माघ, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २.७ प्रतिशत बढेको छ ।
अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्म) १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा यस्तो नाफा १२ करोड ३ लाख रुपैयाँ थियो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६० पैसा छ । गत वर्ष यस्तो आम्दानी १३ रुपैयाँ ७६ पैसा थियो । सर्वसाधारणमा सेयर जारी भएर चुक्ता पूँजी बढेसँगै प्रतिसेयर आम्दानी घटेको हो । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो । बीमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने व्यवस्थाअनुरुप यस कम्पनीलाई अझै १ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी बढाउनुपर्ने बाध्यता छ ।
चालु वर्षको दोस्रो त्रैमासमा कम्पनीले प्रिमियमवापत कुल २ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ । गत वर्ष यस अवधिमा प्रिमियम रकम २ अर्ब ६६ करोड रुपैयाँ थियो ।
लगानी तथा ऋण प्रवाह गरी कम्पनीले प्राप्त गरेको आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । यस्तो आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ४८ करोड ९४ लाख रुपैयाँ बराबर रहेकोमा यो वर्ष सो अवधिमा ७४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १३ पैसा रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको प्रतिसेयर मूल्य ४५३ रुपैयाँ छ । सो मूल्यका आधारका कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६८ दशमलव ६ गुणा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।