Main

कैलालीमा विद्युतीय धरापमा परेर एक जनाको मृत्यु, धराप थाप्ने पक्राउ

१७ माघ, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१० को तुलसीपुर सामुदायिक वनमा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर धनबहादुर शाहको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–४ गणेशपुरका मनीराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनका अनुसार चौधरीले जंगलमा जनावरका लागि विद्युतीय धराप थापेका थिए । सोही धरापमा परेर शाहको मृत्यु भएपछि उनलाई अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएको डीएसपी विश्वकर्माले बताए ।

चौधरीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । १० माघमा सामुदायिक वनमा थापेको विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका शाहको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको थियो । उनीसँगै रहेका मोहन्याल गाउँपालिका–३ बस्ने ३६ वर्षीय दुर्गा खत्री घाइते भएका थिए । अहिले पनि उपचार गराइरहेका खत्रीको अवस्था सुधारोन्मुक रहेको प्रहरीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button