हेटौंडाको खेलकुद समितिमा कार्यकाल नसकिँदै ५ सदस्य हटाइए

१७ माघ हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगर खेलकुद विकास समितिका पाँच सदस्यलाई कार्यकाल नसकिँदै हटाएर ३ जनालाई नियुक्ति दिएकी छन् ।
४ माघको मेयरस्तरीय निर्णयबाट लामाले नगर खेलकुद विकास समितिको संयोजकमा रविन्द्र घिमिरे र सदस्यहरुमा विजय गौतम यज्ञबहादुर राय र सुनिल लोप्चनलाई नियुक्त गरेकी छन् ।
समितिका संयोजक चन्द्र शाहीको कार्यकाल गत २६ साउनमै सकिएपछि यो पद ६ ममहिना भन्दा बढी समयदेखि रिक्त थियो । संयोजक नियुक्त घिमिरे हाल खेलकुदमा सक्रिय छैनन् ।
मेयर लामाले समितिका सदस्यहरु रुपा ढुंगाना, बिक्रम लामिछाने, सुरेश बेरोजगार, अस्मिता गोले र अलावाद्दिन अन्सारीलाई १४ महिना कार्यकाल बाँकी हुँदै हटाएकी छन् । उनीहरु चार वर्षे कार्यकालका लागि १२ फागुन २०७८ मा नियुक्त भएका थिए ।
एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरले पदमा रहेका सदस्यको कार्यकाल नसकिँदै तीन सदस्य नियुक्ति गर्नु गलत भएको भन्दै निर्णय सच्याउन मेयर लामा र उपमेयर राजेश बानियाँको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष सविन मोक्तानले भने, ‘कार्यकाल नसकिँदै अन्यलाई नियुक्ति दिइएको छ । मेयरस्तरको निर्णय पनि त्रुटिपूर्ण हुनु राम्रो हैन । आफ्नै मातहतको समितिका सदस्यको कार्यकालसमेत अध्ययन नगरी हचुवामै नियुक्ति दिनु विधिसम्मत छैन ।’
उपमहानगरपालिकाका प्रवक्ता सुविन न्यौपानेले निर्णयमा त्रुटि भएको स्वीकार गरे । ‘नियुक्ति क्रममा त्रुटि भएको छ । त्रुटि सच्याएर कसरी अगाडि बढ्ने भन्नेमा छलफलमा छौं’, उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।