Main

पोर्चुगल भन्दै रसियन सेनामा पठाउने धन्दा

काठमाडौं। काठमाडौँको एक कन्सल्टेन्सीले केही युवालाई रोजगारीका लागि पोर्चुगल पठाउने भन्दै रसियन सेनामा पठाउने प्रयास गरेको पाइएको छ।

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य एवम् सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलगायतको संलग्नतामा युवालाई झुक्याएर रसियन सेनामा पठाउने प्रयास भइरहेको पीडितहरुले बताएका छन्। पीडितहरुले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक गरेका हुन्।

पीडितहरुकाअनुसार न्यौपाने आबद्ध रहेको सामाखुशीस्थित ‘बि’एक्वायर एजुकेसन कन्सल्टेन्सीले युवाहरुलाई पोर्चुगल पठाउने भनेर रसियन सेनामा पठाउन खोजेको हो।

कन्सल्टेन्सीले कृष्णप्रसाद धमला, नवीनकुमार न्यौपाने, गोपीराम धमला, ध्रुवराज न्यौपाने, नेत्रप्रसाद न्यौपाने, टंक जैशी र निरज धमलालाई गत जेठ ३१ गते पोर्चुगलका लागि भन्दै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अजरबैजान पुर्‍याएका थिए।

अजरबैजान पुगेपछि कन्सल्टेन्सीका मानिस युवाहरुलाई त्यही अलपत्र छाडेर भागेका थिए। कन्सल्टेन्सीका एजेन्ट भागेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

त्यसपछि एजेन्टहरुले हिरासतबाट छुटाएर दुबई फिर्ता गरेका थिए। दुबई फर्किएपछि बल्ल आफूहरुई पोर्चुगल भन्दै रसियन सेनामा पठाउन खोजिएको थाहा पाएको पीडितले जनाएका छन्। उनीहरु दुबईबाट आफैँ पैसाको जोहो गरेर गत मंसिरमा नेपाल फर्किएका थिए।

नेपाल फर्किएपछि उनीहरु कन्सल्टेन्सी पुगेका थिए। तर, कन्सल्टेन्सी पुग्दा उल्टो धम्काइएको पीडितहरुले बताएका छन्। ‘हामी नेपाल फर्किएपछि कन्सल्टेन्सी गएका थियौँ तर त्यहाँ पुग्दा गुण्डा परिचालन गरेर हामीमाथि आक्रमणको प्रयास गरियो’, पीडित ध्रुव न्यौपानेले भने।

उनका अनुसार कन्सल्टेन्सी अहिले बन्द छ। भने, त्यसका संचालकहरु फरार छन्। कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रोजीन न्यौपाने हुन्। भने, कन्सल्टेन्सीमा बुद्ध पाँचकोटी, वसन्त पुडासैनी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका न्यौपानेलगायत आबद्ध छन्।

कन्सल्टेन्सीबाट हर्जनासहित रकम फिर्ता हुनुपर्ने पीडितहरुको माग छ। साथै कन्सल्टेन्सीले वैदेशिक रोजगारीका नाममा मानव तस्करी गरेकोले कानुनी कारबाहीसमेत हुनुपर्ने उनीहरुको भनाइ छ।

यद्यपि, उनीहरु अहिलेसम्म कानूनी कारबाहीका लागि प्रहरीसम्म पुगेका छैनन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button