Main

अजाया र यूएईको अल अली ग्रुपबीच व्यावसायिक साझेदारी  

काठमाडौं । डायमन्ड (हिरा) को अन्तर्राष्ट्रिय ब्रान्ड अजाया  नेपाल र दुबईको अल अली ग्रुपबीच व्यावसायिक साझेदारी सम्बन्धी सम्झौता भएको छ ।

अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले दुई व्यापारिक समूहबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अली र अजाया नेपालका राकेशकुमार अडुकियाले समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीले विज्ञता र लगानीलाई एकै ठाउँमा ल्याएको हुँदा अजायाले छोटो समयमै विश्व बजारमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी विश्वकै चर्चित पर्यटन गन्तव्य दुबईको अनुभवी एवम् प्रतिष्ठित कम्पनीलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न यो समझदारीले प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

विश्व बजारमा नेपाली हस्तकलाको प्रवर्द्धनमा पनि यो समझदारी कोसेढुंगा बन्न सक्ने अपेक्षा गरिएको छ ।

समझदारीबारे स्पष्ट पार्दै अजायाका राकेश अडुकिया भन्छन्, ‘अजाया हामीले डायमन्डमा हासिल गरेको विशेषज्ञताका आधारमा अघि बढाइएको ब्रान्ड हो । यसलाई नेपालमा मात्रै नभएर विश्व बजारमै स्थापित गर्ने लक्ष्य छ ।

अल अली ग्रुपसँगको साझेदारीले लगानी र विशेषज्ञतालाई एकै ठाउँमा ल्याउने काम गरेकाले यो नेपाली ब्रान्ड छोटो समयमै विश्व बजारमा स्थापित हुने अपेक्षा गरेका छौं ।’

त्यसैगरी विशाल सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउन पनि यो समझदारीले सहयोग गर्ने उनले बताए ।

निकट भविष्यमै अल अली ग्रुप र अजायाको संयुक्त लगानीका उद्योगमार्फत पर्यटन क्षेत्रमा प्रवेश गर्ने बताए ।

अल अली ग्रुपका कार्यकारी अध्यक्ष महामहिम याकुब अल अलीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्ने आफ्नो समूहको चाहनालाई मूर्त रुप दिन यो समझदारी कोसेढुंगा साबित हुने बताए ।

‘नेपालको पर्यटन क्षेत्रमा हामीले ठूलो सम्भावना देखेका छौं । अल अली ग्रुप पर्यटन र अतिथि सत्कार क्षेत्रको आफ्नो लामो अनुभवलाई नेपालमा पनि लगानी गर्न चाहन्छ,’ उनले भने, ‘यो समझदारीले हामीलाई निकै उत्साहित बनाएको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button