अफगानिस्तानविरुद्ध आकाशको कीर्तिमानी बलिङ
१२ माघ, काठमाडौं । नेपालका तीव्र गतिका बलर आकाश चन्दले आईसीसी यू–१९ विश्वकप २०२४ मा अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन् ।
उनी यू–१९ विश्वकपमा टेस्ट टोलीविरुद्ध पाँच विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् ।
त्यस्तै उनी नेपालबाट य–ू१९ विश्वकपमा पाँच विकेट लिने पहिलो तीव्र गतिका बलर पनि बनेका छन् ।
दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानलाई १४५ रनमा अल आउट आकाश चन्दले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए ।
टेस्ट टोलीविरुद्ध यो नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो ।
आकाश अघि यू-१९ विश्वकपमा टेस्ट टोलीविरुद्ध नेपालबाट उत्कृष्ट प्रदर्शन मञ्जित श्रेष्ठको नाममा थियो । मञ्जितले २००४ को यू-१९ विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध १० ओभरमा ४ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिएका थिए ।
२०१६ मा सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध पनि पाँच विकेट लिएका थिए । तर त्यो समय आयरल्यान्ड एसोसिएट टोलीको रुपमै थियो ।
आकाश नेपालबाट यू-१९ विश्वकपमा पाँच विकेट लिने चौथो बलर बनेका छन् ।
यू-१९ विश्वकपमा नेपालबाट आकाश अघि पाँच विकेट लिने तीन् खेलाडी र उनीहरुको प्रदर्शन :
राहुल विश्वकर्मा
सन् २०१२ मा अष्ट्रेलियामा भएको यू-१९ विश्वकपमा नेपालका स्पिनर राहुल विश्वकर्माले एक अद्भूत बलिङ गरेका थिए । उनले ब्रिसबेनमा पपुवा न्युगिनीविरुद्ध ६.२ ओभरमा ४ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिएका थिए । त्यो नै नेपाली बलरको यू-१९ विश्वकपमा एकै खेलमा उच्च प्रदर्शन हो ।
भुवन कार्की
२०१२ मा नेपालका स्पिनर भुवन कार्कीले नामिबियाविरुद्ध पाँच विकेट लिएका थिए ।
उनले ब्रिसबेनमै नामिबियाविरुद्ध ७.३ ओभरमा २१ रन खर्चेर ५ विकेट लिएका थिए ।
सन्दीप लामिछाने
२०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकपमा नेपालका स्पिनर सन्दीप लामिछानेले आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए ।
उक्त विश्वकपमा उनले १० ओभरमा २७ रन खर्चेर ५ विकेट लिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।