आईसीसी क्रिकेट विश्वकप लिग–२ मा युएई क्यानडासँग स्तब्ध

१६ फागुन, काठमाडौं । घरेलु टोली युएई आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज २०२४ को आफ्नो पहिलो खेलमै क्यानडासँग ३ विकेटले स्तब्ध भएको छ । लिग २ मा डेब्यू गरेको क्यानडाले महत्वपूर्ण २ अंक बटुलेको छ ।
जितको लागि १९५ रनको विजयी लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । क्यानडाको जितमा निकोलस किर्टोन ९० बलमा ७ चौकासहित ६८ रनमा नट आउट रहे ।
विजयरत्ने श्रीमन्थाले ८३ बलमा ६ चौकासहित ५९ रन बनाए । युएईका जहुर खानले ३, आयन खान र जुनैद सिद्दिकले २–२ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४७.५ ओभरमा १९४ रनमा अल आउट भएको थियो ।
युएईका कप्तान मोहम्मद वासिमले ८२ बलमा ६ चौकासहित सर्वाधिक ४९ रन बनाएका थिए । आयन खानले ३८, जुहैब जुबैरले ३१, बासिल हामिद १९ र आसिफ खान १६ रनमा आउट भए ।
क्यानडाका तीव्र गतिका बलर कलिम सानाले ८.५ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ४ विकेट लिए । डेलोन हेलिगरले २, हर्ष ठाकेर, साद बिन जाफर र आमर खालिदले १–१ विकेट लिए ।
लिग–२ को दोस्रो त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडा, स्कटल्यान्ड र युएईबीच प्रतिस्पर्धा सुरु भएको हो । पहिलो सिरिज यसैसाता त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच भएको थियो ।
८ एसोसिएट ओडीआई टोलीबीच २०२७ सम्म लिग २ चल्नेछ । शीर्ष चार टोलीले २०२७ को विश्वकप ग्लोबल छनोट सोझै खेल्न पाउनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।