Main

उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक आज पनि

२१ चैत, काठमाडौं । उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । मंगलबार बसेको बैठकले उम्मेदवार चयन गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे संसदीय बोर्ड र अपराह्न ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

कांग्रेस नेताहरुका अनुसार इलाम-२ बझाङ प्रदेश सभा (१) दुबै तिर उम्मेदवारका नामलाई लिएर विवाद छ ।

सभापति देउवा पक्ष इलाम-२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउनुपर्ने अडानमा छ ।शेखर–गगन पक्षले भने भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने माग राखिरहेको छ । जिल्ला सभापति समेत रहेका खड्का गत निर्वाचनमा पराजित भएका थिए ।

बझाङमा देउवा पक्षले अभिषेक सिंहलाई उम्मेदवार बनाउन चाहेका छन् । अर्को पक्षले जिल्लाका पुराना नेता जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडानमा छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (१)मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

इलाममा तत्कालीन एमालेका सांसद सुवास नेम्वाङको निधन भएकाले र बझाङमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।

इलाम क्षेत्र नम्बर २ का लागि कांग्रेस कोशी प्रदेशले भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमार, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङको नाम केन्द्रमा सिफारिस गरेको छ ।

यसैगरी बझाङका लागि कांग्रेसले दुर्घटनामा निधन भएका तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंह, सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तीकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमाललाई सिफारिस गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button