एक घण्टा रोकिएको खेल कसरी सम्भव भयो ?

१२ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत अन्तर्गत आइतबार राति भएको नेपाल र भारतबीचको खेल फिल्मको कथा भन्दा फरक थिएन । फुटबल खेलमा हुने सबै खालको मसला त्यो खेल थियो ।
तर दोस्रो हाफमा नेपाल र भारतबीचको खेल खास किन रोकियो? अनी एक घण्टा भन्दा रोकिएको खेल फेरि कसरी सुरु भयो र पूरा खेल सम्भव भयो भन्ने जिज्ञासा र उत्सुकता अझै मेटिएको छैन ।
नाटकिय, अन्योलपूर्ण, विवादित निर्णय, पेनाल्टी सुटआउटमा नेपालको जितपछि खेलको नतिजा त निस्कियो । भारतलाई पेनाल्टीसुटआउटमा ४-२ ले हराएर नेपाल फाइनल त पुग्यो । तर यस खेलको चर्चा भने अझै सेलाएको छैन ।
भारतले ७१औं मिनेटमा गोल गरेपछि उत्पन्न परिस्थितिका कारण खेल तनावपूर्ण बनेको थियो । । बालादेवीको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी संगीता बासफोरेले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारिन् ।
भारतका सबै खेलाडी आफ्नो हाफमा खुशी मनाउन थाले । भारततको हाफ र बेन्च एकैतर्फ थियो । त्यसैले सबै जम्मा भएर केही समय खुशी मनाइरहे । नेपालले भने छिटो बल चनाउन खोज्यो । भुटानी रेफ्री ओम चोकीले खेल सुरु भएको संकेत गरिन् ।
सावित्रा भण्डारीले सेन्टरबाट बल चलाउँदै अघि बढाइन् र प्रीति राईलाई पास दिइन् । प्रीतिले बल अघि बढाइरहेको देखपछि भारतीय किपर र खेलाडीहरु मैदानतर्फ गए । तर भारतीय खेलाडी पुग्नुअघि नै प्रीतिले गोल गरिन् ।
रेफ्रीले उक्त गोल भएको इशारा गरिन् । तर सहायक रेफ्री र फोर्थ अफिसियलले मान्यता नदिएपछि मुख्य रेफ्रीले पनि गोललाई मान्यता दिइनन् ।
नेपालले बल चलाउँदा भारतीय प्रशिक्षकसहित अफिसियल मैदानभित्र रहेको भन्दै नेपाललाई गोललाई मान्यता दिइएन । यस्तो अवस्थामा गोलले मान्यता पाउनुपर्ने थियो । तर रेफ्रीले गोल नदिएपछि नेपालले प्रतिवाद गरेको थियो । तर खेल सुरु नगरे खेल रद्ध हुने र भारतलाई विजेता बनाउने भनेपछि नेपालले खेल सुरु गर्यो ।
नेपाली खेलाडीले सेन्टरबाट फेरि बल चलाए । तर रंगशालमा उपस्थित हजारौं दर्शकले के मान्थे । रेफ्रीको निर्णयको विरोध गर्दै मैदानमा पानीका बोतल बर्षाउन थाले । जसले खेल फेरि रोकियो । नेपालको कोचिङ स्टाफ लगायत बेन्चमा रहेकाहरुले अपिसियलसँग वादविवाद गर्न थाले ।
खेलमा अवरोध भएपछि म्याच कमिस्नर भुटानका मिन्दु दोर्जी र रेफ्री रेसेस भारतकी मारिया रेबेवलो पनि मैदान छेउ पुगेर रेफ्रीहरुसँग सल्लाह गरे । यतिबेला सम्म अवस्था तनावग्रस्त बन्न थालिसकेको थियो ।
नेपाली टोली गोलमान्यता नदिए खेल नखेल्ने भन्ने अर्कोतर्फ भारतले नेपालले बल चलाइसकेकोले गोल रद्द हुनुपर्ने माग राख्यो ।
त्यहाँ कुरा मिलेन । रेफ्री, साफ र एन्फाका पदाधिकारीले पनि कुनै निर्णय लिन सकेनन् । कोही खेल्नुपर्छ भन्ने कोही खेल्नुहुँदैन भन्ने बहस चलिरह्यो ।
खेलपछि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई कारण देखाउँदै नेपालको गोललाई मान्यता नदिएको बताए । ‘पहिलो विपक्षी टिमको कोच लाइनभित्र छिरेको भनेर मान्यता पाएन भन्नुभयो । यो त कसरी हुन्छ र तपाईंले मान्यता दिइसक्नुभएको गोल निश्चित गोल भइसक्यो भनेर भन्यौँ । त्यसपछि छलफल हुँदाहँदै किपर गोलपोष्ट छाडेर यता आएको भनेर गोलको मान्यता भएन भन्नुभयो’, तामाङले खेलपछि भने ।
नेपालको एउटै माग थियो रेफ्रीले खेल चलाउन अनुमति दिएर गोल भएपछि त्यसले किन मान्यता पाएन ?
कसरी फेरि सम्भव भयो खेल ?
खेलाडी, कोचिङ स्टाफ रेफ्री, रेफ्री, म्याच कमिस्नर एन्फा पदिधकारीहरु सबैको छलफलपछि एक घण्टा ८ मिनेटपछि खेल फेरि सुरु भयो ।
गोलले मान्यता नपाए नखेल्ने भनेर खेलाडीहरु खेल्न मानिरहेका थिएनन् । तर नेपाली राष्ट्रिय पुरुष पुटबल टिमका कप्तान किरणकुमार लिम्बु र पूर्वखेलाडी बिक्रम लामाले मैदानमा पुगेर खेलाडीहरुलाई सम्झाउँदै खेल फेरि सुरु हुने वातावरण बन्यो । यसबारे सावित्रा भण्डारीले खेलपछि पोष्टम्याच कन्फेरेन्समा पनि बोलेकी थिइन् ।
‘त्यो बेला किरण दाईहरु आएर १-० डाउन छ । अझै ३५ मिनेट बाँकी छ । यति धेरै दर्शक छन् । पहिलो पटक महिला फुटबलमा यति धेरै दर्शक आएर माया गरेका छन् भनेर भन्नुभयो । अब कसरी देखाउने तिमीहरुको हातमा छ भनेपछि खेल सुरु हुनुअघि मैले खेलाडीलाई सम्झाएँ । खेलाडीले त्यसलाई सहजै ग्रहण गरेर र त्यो कुरा रिले हुँदा सबैको हातमा काँडा उम्रियो’, सावित्राले भनेकी थिइन् ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार नेपालले खेल्न नमाने खेल नै रद्द गर्ने, कारबाही गर्ने जस्ता कुराहरु उठेपछि नेपाली टोली अन्तिममा खेल्न तयार भएको थियो । ‘अन्तिममा खेल नै अबान्डन्ड गर्ने, कारबाही गर्ने, फाइन तिराउनेलगायत कुरा भयो । अब फाइन तिराउनुपर्छ, सस्पेन्स गराउनुपर्छ भन्ने भयो । त्यसपछि अन्तिममा खेलाउने भन्ने कुरा भयो’, प्रशिक्षक तामाङले भने ।
एक घण्टा भन्दा बढी समय रोकिएर खेल पुन: सुरु भयो । रेफ्रीले ६३ औं मिनेटबाट खेल अघि बढाइन् । अफिसियल म्याच रिपोर्ट अनुसार संगीताको गोल टाइमिङ ६२ औं मिनेट रह्यो । खेल फेरि सुरु भएलगत्तै नेपालका लागि सावित्राले बराबरी गोल फर्काइन् । रिपोर्टमा सावित्राको गोल टाइमिङ ६६ औं मिनेट उल्लेख छ ।
त्यसपछि खेल सामान्य रुपमै अघि बढ्यो । खेलाडीहरुले पनि अनुशासित भएर खेलेको प्रशिक्षक राजेन्द्र तामाङले बताए । एक खेलाडी कम भएपनि १८ हजार बढी दर्शकको साथ पाएको नेपालले गोल फर्कायो । नेपालले गोल गरेपछि भारतलाई घाटा भयो । हजारौँ दर्शकको अघि भारतलाई खेल्ने बानी थिएन । नेपाललाई दर्शकको साथ फाइदा भयो ।
खेल नेपालले जित्यो । तर यो खेलको माहोल भने अझै सेलाएको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।