Main

एनपीएल नेपाली क्रिकेटमा ‘गेम चेन्जर’ बन्न सक्छ : ज्ञानेन्द्र मल्ल

२० कात्तिक, काठमाडौं । खेलाडी जीवनमा उत्कृष्ट ब्याटर र राष्ट्रिय टिमको कप्तानसम्म बनेका ३४ वर्षीय ज्ञानेन्द्र मल्ल पछिल्लो केही वर्षयता प्रशिक्षकको भूमिकामा छन् ।

नेपालको ए टिमको प्रशिक्षक रहिसकेका मल्ल प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको पनि प्रशिक्षक भए । भर्खरै हङकङमा सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा नेपाललाई सेमिफाइनलसम्म पुर्‍याए ।

अब १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुने हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा उनी कर्णाली याक्स फ्रेन्चाइज टिमको मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टरको भूमिकामा रहनेछन् । एनपीएलमा कर्णालीसँगै विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी र सुदूरपश्चिम गरी ८ टिम सहभागी छन् ।

अपेक्षाबाहिरको भूमिका

खेलाडी करियर टुङ्ग्याएको एक वर्षपछि नै फ्रेन्चाइज लिगमा प्रशिक्षक बनेका मल्ल एनपीएलमा सहभागी ८ टिमका प्रशिक्षकमध्ये सबैभन्दा कान्छा हुन् ।

उनले यो भूमिका आफ्नो अपेक्षा भन्दा बाहिरको रहेको बताए । ‘मेरो लागि यो रोल एक्सपेक्टेड त थिएन । कोचिङ गर्न थालेको एक वर्षमै सबै कुराहरु फास्ट फरवार्ड नै भएको जस्तो लाग्छ’, मल्लले अनलाइनखबरसँग भने, ‘सिनियर टिममा पनि खेलाडी हुँदै कप्तान र मेन्टर भएकाले मलाई सबैले स्वीकार गरेजस्तो लाग्छ ।’

तर मुख्य प्रशिक्षक र क्रिकेट डिरेक्टरको भूमिका चुनौतीपूर्ण हुने उनले बुझेका छन् । ‘खुशी छु, तर जिम्मेवारी सहज छैन । त्यो भन्दै गर्दा केही कुरा पनि सहज हुँदैन र चुनौतीमै मज्जा आउँछ । खेल भावना भएको मान्छेलाई चुनौती नभए मज्जा हुँदैन’, मल्ल भन्छन् ।

एनपीएल खेल्ने ८ मध्ये ५ टिममा विदेशी प्रशिक्षक छन् भने हरेक टिमले ४-४ विदेशी खेलाडी अनुबन्ध गर्नेछन् । त्यसैले एनपीएलका सबै टिम बलिया हुने र खेलहरु प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

हरेक टिमको लक्ष्य खेल जित्ने हुनाले मल्लको भूमिका चुनौतीपूर्ण छ । एनपीएलमा खेल जित्ने मात्र नभई राम्रो खेल प्रदर्शन गर्ने उनको चाहना छ । ‘एउटा प्याकेजमा हेर्दा त्यसलाई कसरी जस्टिफाई गर्ने भन्ने कुराले महत्व राख्छ । त्यो चुनौतीका लागि तयार हुनुपर्छ, म चुनौती स्वीकार गरेर अघि बढ्छु’, उनले भने ।

आफ्नै पूर्वप्रशिक्षकविरुद्ध रणनीति बनाउनुपर्ने

एनपीएलका लागि अनुबन्ध ५ विदेशीमध्ये जनकपुर बोल्ट्सका ‍पुबुदु दासानायके र चितवन राइनोजका उमेश पटवाल नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पनि हुन् । यसबाहेक सुदूरपश्चिमका प्रशिक्षक जगत टमटा पनि राष्ट्रिय टिमका पूर्वप्रशिक्षक हुन् ।

‘खेलाडीको रुपमा उहाँहरुसँग सेम टिममा रहेँ । कोचिङको रुपमा उहाँहरुसँग रहन पाउँदा राम्रो लागेको छ’, मल्लले भने, ‘धेरै जनासँग सिकेको कुराहरुलाई मैले निखार दिन सक्छु होला । उहाँहरु पनि खुशी हुनुहुन्छ होला ।’

एउटा टिम राम्रो हुन प्रशिक्षकको रणनीतिसँगै खेलाडीको प्रदर्शन पनि महत्वपूर्ण हुने उनले बताए ।

सँगै खेलेका खेलाडीलाई प्रशिक्षण

मल्लसँगै राष्ट्रिय टिममा लामो समय खेलेका सोमपाल कामी कर्णालीको मार्की प्लेअर छन् । यस्तै उनी कप्तान रहँदा राष्ट्रिय टिममा डेब्यु गरेका गुल्सन झा पनि त्यही टिममा छन् ।

‘मार्कीमा लक्की ड्र बाट सोमपाल पायौँ । ऊ अनुभवी खेलाडी हो । उसको प्रदर्शनमा अझै निखार आइरहेको छ, अरु पनि अनुभवी खेलाडीहरु छन्’, उनले भने ।

अक्सनबाट अपुग भएको खेलाडी विदेशी खेलाडीबाट पूरा गर्ने कर्णालीको तयारी छ । कर्णालीले विदेशी खेलाडी कोटामा पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायत र वेष्ट इन्डिजका विकेटकिपर ब्याटर चाडविक वाल्टनलाई अनुबन्ध गरेको छ । अझै एक जना विदेशी खेलाडी अनुबन्ध गर्ने ठाउँ छ ।

बाबर र वाल्टन टप अर्डर ब्याटर हुन् । तलात अलराउण्डर हुन् । टप अर्डरमा देव खनाल, ऋत गौतम र अर्जुन घर्ती जस्ता युवा खेलाडी पनि छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका भुवन कार्की र मौसम ढकालसँगै दीपेन्द्र रावत स्पिनमा छन् ।

पेस बलिङ अट्याकको नेतृत्व सोमपालले गर्नेछन् भने उनलाई गुल्सन झा र नन्दन यादवले सघाउने छन् ।

मल्लले राष्ट्रिय टिममा आफूसँगै खेलेका केही खेलाडीलाई यसअघि एपीएफ र नेपाल ए टिममा प्रशिक्षण दिइसकेका छन् । त्यसैले एनपीएलमा पनि सहज हुने उनको विश्वास छ ।

‘राष्ट्रिय टिममा हुँदा सबै खेलाडीहरु म भन्दा जुनियर नै थिए । उनीहरुलाई गाइड गर्ने, मेन्टरसिप गर्ने काम त्यो बेलादेखि गर्दै गरेको भएर स्वीकार्छ जस्तो लाग्छ’, उनले भने, ‘यो भन्दअघि नेपाल ए टिम र विभागीय टिममा हुँदा पनि सहज भएको थियो ।’

एनपीएल गेम चेन्जर बन्न सक्छ

तीन साता चल्ने एनपीएलमा ८ टिमबाट कूल १२८ खेलाडीले खेल्नेछन्, जसमध्ये ३२ विदेशी खेलाडी हुनेछन् । नेपालमा अहिलेसम्मकै ठूलो घरेलु प्रतियोगितालाई लिएर खेलाडी, प्रशिक्षक, क्रिकेट समर्थक र लगानीकर्ता सबै उत्साहित छन् ।

क्रिकेटर मल्ल एनपीएल नेपाली क्रिकेटमा गेम चेन्जर बन्न सक्ने बताउँछन् । ‘यहाँबाट एनपीएललाई सकारात्मक रुपमा ग्रो गर्ने मौका भयो भने यो नेपाली क्रिकेटको लागि गेम चेन्जर हुन सक्छ’, उनले भने ।

लिगमा फ्रेन्चाइज टिमहरुले गरेको लगानी, एनपीएलले पाएको साथ र सहयोग, खेलाडीले पाउने एक्सपोजर र आर्थिक लाभका कारण यो गेमचेन्जर हुन सक्ने मल्लको भनाइ छ । एनपीएलमा ८ टिमले गरी ४० देखि ५० करोड रुपैयाँ लगानी गरेका छन् ।

‘यसले खेलाडीहरुलाई आर्थिक रुपमा फाइदा हुन्छ । अन्तर्राष्ट्रिय रुपमा पनि नेपालमा यो खालको लिग हुन्छ भनेर ग्रो गर्न सकिन्छ र सन्देश दिन सकिन्छ’, उनले भने ।

यस्तै स्थानीय खेलाडीले पनि विदेशी प्रशिक्षकसँग धेरै सिक्न सक्ने मल्लले बताए । ‘ठूला खेलाडीहरु, विदेशी कोचहरुसँगै भएपछि उनीहरुले तल्लो लेभलदेखि एक्सपोजर पाउँछन्’, उनले भने ।

यसले खेलाडीको प्रदर्शन सुधार गर्न सहयोग पुग्ने मल्लको विश्वास छ । ‘नेपालले टी-२० विश्वकप खेलेर आयो । त्यसको प्रदर्शनको चर्चा भयो । फिनिसिङ भएन भन्ने कुरा पनि आयो । तर यस्ता लिगहरु हुँदा त्यस्ता प्रतियोगिताहरुलाई धेरै फरक पार्छ’, उनले भने ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button