एपीएफले आज उज्वेकिस्तानको नासफसँग खेल्दै

९ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा नेपालको एपीएफ क्लबले आज उज्वेकिस्तानको नासाफसँग खेल्दैछ । नेपालको महिला लिग च्याम्पियनसिपको हैसियतमा एपीएफले एसिया महादेशको क्बल फुटबल प्रतियोगिता खेल्न लागेको हो ।
नेपालको प्रतिनिधित्व गर्दै एसियामा खेल्ने एपीएफ पहिलो क्लब बन्नेछ । जुन नेपाली पुटबलको लागि नयाँ इतिहास हुनेछ । प्रारम्भिक चरणमा समूह सी मा रहेका एपीएफ र नासाफबीचको खेल मलेसियाको कोता किनाबालुस्थित लिकास स्६डियममा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ।
एपीएफ अनिता बस्नेतको कप्तानीमा मैदान उत्रनेछ । राष्ट्रिय टिमका १३ खेलाडी रहेको एपीएफले यस खेलमा लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबाट समेत २-२ गरी ४ राष्ट्रिय खेलाडी थप गर्दै मलेसिया गएको छ ।
एपीएफका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलमा सकेसम्म अंक लिने प्रयास रहने मलेसिया जानुअघि बताएका थिए । ‘नासाफसँग सके ३ अंक नभएपनि १ अंक लिन सक्यो भने अर्को खेलमा सहज हुन्छ ।’ उनले मलेसियन क्लब सबाह एपीएफ जस्तै भएकोले त्यस खेलमा केही सहज हुने बताएका थिए । नासाफ उज्वेकिस्तानको लिग च्याम्पियन टोली हो ।
नेपाली फुटबलकी गोल मेसिनको रुपमा रहेकी सावित्रा भण्डारी साम्बा भने आफ्नो घरेलु क्लब एपीएफले महादेशकै ठूलो प्रतियोगितामा डेब्यु गरिरहँदा टिममा हुने छैनन् । उनी हाल व्यावसायिक फुटबल खेल्न फ्रान्समा छिन् ।
साम्बा नहुँदा टिमलाई केही असर पर्ने भएपनि उ नहुँदा टिमका अन्य खेलाडीहरुले राम्रो प्रदर्शन गर्नुपर्ने प्रशिक्षक तामाङले बताएका थिए ।
च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । एपीएफ रहेको समूहमा तीन टोली मात्र छ ।
हरेक समूहको शीर्ष स्थानमा रहने टोली मात्र अन्तिम चरणमा छनोट हुनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।