एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

३० जेठ, काठमाडौं । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेद्वार चन्द्र लामालाई ८१ मतान्तरमा हराउँदै भुर्तेल विजयी भएका हुन् ।
भुर्तेलले ३८० मत पाउँदा लामाले २९९ मत प्राप्त गरे । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न दिएको निर्देशन दिएपनि दुबैले प्यानल बनाएर लडेका थिए ।
भुर्तेल प्यानलकै उपाध्यक्षका उम्मेद्वार देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिव खुल्लामा रत्नकुश रंजित र महिला उपसचिवमा सूर्यमाया दनुवार विजयी भए ।
सर्वसम्मतको प्रयास भएपनि जिल्लाका सिनियर नेताहरु नै लामा र भुर्तेलको पक्षमा खुलेका थिए । सांसद गोकुल बाँस्कोटा, निवर्तमान अध्यक्ष अशोक बेञ्जु लगायतले भुर्तेललाई साथ दिएका थिए भने रेशम लामा, रुक्मणी बराइली, अमित लामा लगायत भने लामालाई जिल्ला अध्यक्ष बनाउने पक्षमा लागेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।