Main

एसीसी पुरुष प्रिमियर कपमा नेपाल समूह ए मा, खेल तालिका सार्वजनिक

काठमाडौँ। एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ। ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन्।

जसमा समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन्। त्यसैगरी समूह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन्।

एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आईसीसी टी(२० वरीयताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन्।

समूह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसियासँग खेल्ने भएको छ। त्यस्तै नेपालले दोस्रो खेल अप्रिल १३ मा कतारविरुद्ध खेल्नेछ भने तेस्रो खेल अप्रिल १५ मा हङकङविरुद्ध खेल्नेछ।

त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ।

समूह चरणका खेलपछि दुवै समुहका शिर्ष २–२ देश सेमिफाइनलमा पुग्ने छन्। प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुनेछ। फाइनल खेलका लागि एक दिनको रिजर्भ डे समेत राखिएको एसीसीले जनाएको छ।

एसीसी प्रिमियर कपको विजेताले २०२५ को एशिया कपमा छनौट हुनेछ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button