कलाकार पहिरोमा अलपत्र, कतै छायांकन अवरुद्ध, कतै सेट डुबानमा, प्राविधिकको घर भत्कियो

काठमाडौं । लगातारको झरीपछि आएको बाढीपहिरो र डुबानले मनोरञ्जन क्षेत्र पनि प्रभावित बनेको छ । निर्मातालाई लाखौं आर्थिक नोक्सान पुगेको छ भने चल्दाचल्दैका फिल्म समेत स्थगित गर्नुपरेको छ ।
झरीले दर्शक हलमा पुग्न कठिन भएको भन्दै फिल्म ‘सानो संसार’का निर्माताले आइतबारदेखि फिल्मको प्रदर्शन स्थगित गर्ने निर्णय गरेका छन् । उपयुक्त समयमा फिल्मको पुनः रिलिज गर्ने निर्माता अर्जुन कुमार बताउँछन् ।
वरिष्ठ फिल्म प्राविधिक तथा मेकअपम्यान सन्तु तामाङको काभ्रेस्थित चलाल गणेशस्थानस्थित घर भत्किएको छ ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन भैरहेको दक्षिण भारतीय फिल्म ‘ज्याक’को छायांकन दुई दिनदेखि रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति पुगेको छ । प्रकाश राज स्टारर यो फिल्मको सुटिङ वर्षा हुने क्रम रोकिएपछि सुचारु हुने जनाइएको छ ।
‘छक्कापञ्जा ५’को बाँकी छायांकन पनि झरीले हुन सकेन । मौसममा सुधार आएपछि सुटिङ हुने भनिएको छ ।
प्रदीप खड्काले अभिनय गरिरहेको फिल्म ‘एक्लो’को च्यासलस्थित सेट डुबानमा परेको छ । सेटभित्रै पानी पसेर सामग्री बिग्रिएको र निर्मातालाई नोक्सान पुगेको जनाइएको छ । यो फिल्मको सेट गतसाता उपल्लो मुस्ताङमा पनि डुबानमा पर्दा नोक्सान भएको थियो ।
लगातारको झरीको कारण न्यून संख्यामा दर्शक हलमा पुगे जसले गर्दा ‘सानो संसार’ र ‘आँखा’को ओपनिङ प्रभावित बन्यो । अन्य फिल्मले पनि दर्शकलाई हलमा तान्न सकेनन् । शनिबार भक्तपुरको राधे राधे क्षेत्र डुबानमा पर्दा क्यूएफएक्सको भाटभटेनी हलमा दर्शकले फिल्म हेर्न पाएनन् ।
केही फिल्मको प्रचारप्रसार समेत प्रभावित बन्यो भने केहीले पत्रकार सम्मेलन पनि स्थगित गरे ।
दशैंको घटस्थापनामा रिलिज हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रचारमा निस्किएका अभिनेता तथा निर्माता निश्चल बस्नेत र अभिनेता विजय बरालसहितको टोली पहिरोले राजमार्गमा अलपत्र परेको जानकारी सामाजिक संजालबाट दिएका थिए ।
पोखराबाट काठमाडौं आउँदै गरेको शिल्पी नाटक घरको टोली दुई दिनदेखि नागढुंगा छेउछाउ पहिरोले गर्दा अलपत्र बने । शनिबार बेलुकातिर उनीहरु गल्छीको बाटो चन्द्रागिरी हुँदै काठमाडौं फर्किएको निर्देशक घिमिरे युवराजले फेसबुकमा जानकारी दिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।