Main

काज सरुवाको टिप्पणी सार्वजनिक भएपछि त्रिविले बनायो छानबिन समिति

२४ माघ, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको प्रशासन महाशाखाले कर्मचारी सरुवाको टिप्पणी सार्वजनिक भएको विषय छानबिन गर्न समिति गठन गरेको छ ।

निर्वतमान रजिष्ट्रार पेशल दाहालले ६ पुसमा ९ जना कर्मचारीलाई सरुवा तथा काजमा खटाउने निर्णय गरेका थिए । सोही निर्णयको टिप्पणी भक्तपुर क्याम्पसका शाखा अधिकृत विदुर दाहालले त्रिविका कर्मचारीहरुको फेसबुक मेसेन्जर ग्रुपमा सेयर गरेका थिए ।

गोप्य सूचना सार्वजनिक गरेको भन्दै कर्मचारी महाशाखाले ९ माघमा अनुगमन निर्देशनालयका उपनिर्देशक विष्णुप्रसाद वाग्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

त्रिविका एक कर्मचारी आवश्यक नै नरहेको छानबिन समिति गठन गरिएको टिप्पणी गर्छन् । सूचनाको हकसम्बन्धी कानुनले सरकारी निकायमा उठाइने टिप्पणीलाई सूचनाको रुपमा परिभाषित गरेको र सूचना आयोगले पनि सूचनाकै रुपमा टिप्पणीको प्रतिलिपी पाउने हक सुनिश्चित गराएकाले उक्त निर्णय सार्वजनिक हुनु सामान्य भएको ती कर्मचारीले बताए ।

‘यसमा समिति गठन गरेर छानबिन गर्नुपर्ने के छ र ? यस्तो कुरामा समिति गठन गर्नु भनेको एक किसिमको भ्रष्टाचार हो’ उनले भने ।

महाशाखाले अनुगमन निर्देशनालयका उपनिर्देशक विष्णुप्रसाद वाग्लेलाई दिएको पत्रमा ‘कर्मचारी प्रशासन महाशाखा अन्तर्गत युनिट ३ मा कार्यरत शाखा अधिकृत भृगुदेवी सापकोटाको टेबलबाट अत्यन्तै गोप्य फाइल निजको अनुपस्थितिमा फोटो खिची बाहिर संचार माध्यममा आएको सन्दर्भमा आवश्यक छानबिनका लागि’ छानबिन समिति गठन गरेको उल्लेख छ ।

छानबिन समितिका संयोजक वाग्लेले समिति बन्न जरुरी हो कि होइन भनेर निमित्त रजिष्टारसँग कुरा गर्न खोज्दा सम्भव नभएको बताए । उनले भने ‘यो समिति बन्न जरुरी हो होइन भनेर दुई पटक रजिष्टार सरसँग कुरा गर्न खोजेँ भेट भएन ।’

रजिष्टार कार्यालयबाट पत्र नआइ कर्मचारी प्रशासन महाशाखाबाट पत्र आएकाले अलमल भएको उनको भनाइ छ । ‘हामीले दुई जना कर्मचारीसँग सामान्य सोधपुछ गरेका छौं । त्यसपछि कसरी प्रतिवेदन बनाउने भन्ने अलमलमा छौं’ उनले भने ।

भक्तपुर क्याम्पसका शाखा अधिकृत विदुर दाहालले भने आफूले मेसेन्जर ग्रुपमा सेयर गरेको कुरा गोप्य नभएको बताए । ‘यसमा लुकाउनुपर्ने केही छैन । त्यसैले मैले समिति नै अवैध हो भन्दै आएको छु’, उनी भन्छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button