Main

काठमाडौंका ४० प्रतिशत क्षेत्र जितेको रास्वपा उपचुनाव लड्न हच्कियो

४ मंसिर, काठमाडौं । कुनै पनि दलका लागि चुनावी प्रतिस्पर्धा कति महत्वपूर्ण हुन्छ भनेर बुझ्नका लागि कालीकोटको दृष्टान्त हेरे पुग्छ ।

कालीकोटस्थित तिलागुफा नगरपालिका–४ को गत निर्वाचनमा तिलागुफा–४ मा माओवादी केन्द्रका परबहादुर शाही २३४ मत ल्याएर निर्वाचित भए । दोस्रो स्थानको मत नेपाल मजदुर किसान पार्टीका दीपबहादुर शाहीले १६१ मत ल्याए । तेस्रो स्थानमा एमालेका उम्मेदवार धनसरा शाहीले ४ मत पाउँदा कांग्रेसका मलेबहादुर शाहीले चौथो स्थानमा ३ मत पाए ।

उक्त वडामा १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । अहिले सत्ता चलाइरहेका दुई ठूला दलका उम्मेदवारले त्यस वडामा पाएको जम्मा मत क्रमशः ४ र ३ हो ।

अब मतको सामान्य आकलन गरौं । अघिल्लो निर्वाचनमा प्राप्त गरेको मतको आधारमा विश्लेषण गर्दा माओवादी केन्द्रका उम्मेदवारले सहजै जित्ने देखिन्छ । अन्य दललाई फराकिलो अन्तरले पछि पारेको माओवादीलाई जित्न कठिन देखिन्न ।

अत्यन्तै कमजोर अवस्थाका एमालेका उम्मेदवारले प्राप्त गरेको ४ र कांग्रेसले ल्याएको ३ मतलाई बढाएर आफ्नो पक्षमा नतिजा निकाल्न ती दुबै दललाई सामान्यतयाः सहज देखिन्न । यद्यपि, उपनिर्वाचनमा आफ्ना उम्मेदवारले जित्न नसक्ने विश्लेषण गरेर कांग्रेस र एमाले चुनावबाट भागेनन् ।

यसपटक कांग्रेसबाट पैलबहादुर शाही र एमालेबाट ऐनबहादुर शाही उम्मेदवार बनेका छन् । तर, संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले सांगठनिक रुपमा कमजोर रहेको निर्क्योल निकाल्दै कीर्तिपुर नगरपालिकासहित १८ स्थानमा उम्मेदवार उठाएन ।

संगठन राम्रो नबनेको हुँदा कीर्तिपुरमा उम्मेदवारी दर्ता नगरिएको बागमतीका रास्वपा महामन्त्री सुरेन्द्र भट्टले जानकारी गराए । ‘वडाहरुमा संगठन बनाएरै जाऔं भनेर उम्मेदवारी नदिने भयौं’, भट्टले अनलाइनखबरसँग भने ।

रास्वपा नेताहरुका अनुसार कीर्तिपुरमा उम्मेदवारी दिनुपर्छ/दिनुहुँदैन भनी दुई विचार पार्टीमा थियो । केन्द्रीय तहका नेताहरु उम्मेदवारी दिनुपर्ने पक्षमा र जिल्ला/प्रदेशका नेताहरु उम्मेदवारी दिनु नहुने पक्षमा देखिएका थिए ।

केन्द्रीय राजधानीमा रहेको पालिका र नगरतर्फ एक ठाउँमा मात्रै हुने निर्वाचन भएकाले दलहरुले स्वभाविक चासो र प्रमुख प्राथमिकतामा कीर्तिपुरलाई राखेका छन् । पहिलोपटक स्थानीय तहको निर्वाचनको अनुभव लिँदै गरेको संसदको चौथो शक्ति रास्वपाले कीर्तिपुर प्रमुख र दुई वडाध्यक्षमा उम्मेदवारी दिएन ।

कीर्तिपुरमा प्रमुख पदको उम्मेदवारीका लागि जयराम कार्की र वडा नम्बर ४ का लागि सुशील बाँस्कोटाको एकल सिफारिस भएको थियो । ती एकल सिफारिस भए पनि दुबै उम्मेदवार हुन पाएनन् । वडा नम्बर–१ मा भने सिफारिस परेको थिएन ।

प्रमुख पदका लागि एकल सिफारिस परेका कार्की रास्वपाका कीर्तिपुर नगर सभापतिसमेत हुन् । सिफारिस भएका व्यक्तिहरु नै उम्मेदवारीका लागि तयार नहुँदा प्रतिस्पर्धा गर्नुभन्दा पार्टी संगठनमा जोड दिनुपरेको काठमाडौंका सभापति प्रदीप विष्टले जानकारी गराए ।

रास्वपा नेताहरुका अनुसार कीर्तिपुरमा उम्मेदवारी दिनुपर्छ/दिनुहुँदैन भनी दुई विचार पार्टीमा थियो । केन्द्रीय तहका नेताहरु उम्मेदवारी दिनुपर्ने पक्षमा र जिल्ला/प्रदेशका नेताहरु उम्मेदवारी दिनु नहुने पक्षमा देखिएका थिए ।

रास्वपाभित्र कीर्तिपुर नगर प्रमुखका लागि जिल्ला सभापति विष्टलाई उठाउनुपर्ने मतहरु पनि आएका थिए । अघिल्लोपटक संघीय संसदमा काठमाडौं–१० बाट प्रतिस्पर्धा गरेका विष्ट उम्मेदवार हुने रुचि देखाएनन् ।

विष्टले अनलाइनखबरसँग भने, ‘मलाई नै उठ्नपर्छ भन्ने साथीहरु पार्टीमा हुनुहुन्थ्यो । संघमा लडिसकेको हुनाले मैले आफू उम्मेदवार नहुने भनिसकेको थिएँ ।’

रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिएपछि पार्टीभित्र असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ । काठमाडौं–५ मा रास्वपाबाट संघीय संसदको उम्मेदवार बनेका प्रणय राणाले काठमाडौंमा समेत शतप्रतिशत स्थानमा उम्मेदवारी नदिएको प्रति असन्तुष्टि जनाए ।

रास्वपाले गत निर्वाचनमा संघीय संसदतर्फ १६५ मा १३२ क्षेत्रमा उम्मेदवार बनाएको थियो । काठमाडौंका १० क्षेत्र मध्ये क्षेत्र नम्बर ४ मा बाहेक सबैमा उम्मेदवार उठाएको थियो । रास्वपाले काठमाडौंमा उठाएका ९ उम्मेदवारमा ४ जनाले चुनाव जिते । काठमाडौं–२, ६, ७ र ८ मा क्रमशः सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली र विराजभक्त श्रेष्ठ निर्वाचित भए ।

काठमाडौं–९ मा रास्वपा उम्मेदवार टेकबहादुर पोखरेल झिनो मतले पराजित भए । हाल उपनिर्वाचन हुने पालिका रहेको काठमाडौं–१० मा रास्वपा तेस्रो स्थानमा आएको थियो । रास्वपाका काठमाडौं जिल्ला सभापति रहेका प्रदीप विष्टले ८ हजार ७३९ मत ल्याएका थिए ।

काठमाडौंमा ४० प्रतिशत क्षेत्र प्रत्यक्षतर्फ जित्न सफल भएको रास्वपाले महानगरको १६ नम्बर वडामा मात्रै उम्मेदवार बनायो । रास्वपा सर्वाधिक उम्मेदवार जिताएको काठमाडौंमा उपनिर्वाचनमा उठाउन नसक्नु पार्टी गतिशील नहुनुको परिणाम भएको राणाको टिप्पणी छ ।

‘विभिन्न बहानाबाजीमा पार्टी स्थापनाको २ बर्ष हुँदा सम्म पनि अधिवेशन नगर्नुको उपज हो यो सबै । कहिले संगठन चाहिन्न भन्दियो, कहिले क्षेत्र खारेज, असर त पर्‍यो नि, हैन ?’ नेतृत्वप्रति राणाको प्रश्न छ,‘अहिले पनि नियमित काम ठप्प परेर वैशाखमा केन्द्रीय अधिवेशन सम्पन्न हुन्छ ? केही त ढंगले गरौँ ।’

रास्वपाले पार्टी संरचना छिटो छरितो र चुस्त बनाउने भन्दै पहिले निर्वाचन क्षेत्रीय समिति बनाएको थिएन । विधानमा निर्वाचन क्षेत्रीय समितिको व्यवस्था नभएपछि कार्यविधि मार्फत संरचना बनाइएको थियो । हालको विधानमा भने निर्वाचन क्षेत्र समिति राखिएको छ ।

सांगठनिक शक्ति कमजोर रहेकाले उम्मेदवारी नदिएको रास्वपा नेताहरुको जिकिर छ । संसदीय निर्वाचनको बेला भने रास्वपा विना संगठन अधिकांश स्थानमा उम्मेदवारी दिएको थियो । पार्टी गठन भएको पाँच महिनामा चुनावी प्रतिस्पर्धाबाट रास्वपामा २० सांसद बनेका थिए ।

रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्,‘संगठन बनाएरै मात्रै चुनावमा जान हो भने २०७९ को निर्वाचनमा हाम्रो कति ठाउँमा संगठन थियो ?’ चुनावमा पराजित हुने डरले आफ्नो शक्ति परीक्षण र २०८४ को तयारीलाई ठेस लाग्ने कार्य गरिएको ती नेताले आरोप लगाए ।

कीर्तिपुरमा उम्मेदवार उठाउन नसकेपछि नेताहरु आलोचित बनेका छन् । रास्वपाले तोकको मापदण्ड अनुसार उम्मेदवार हुन नसकेकाले प्रतिस्पर्धा नगरेको नेताहरुको तर्क छ ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कीर्तिपुरको प्रमुख पदमा सिफारिस भएका जयराम कार्कीले स्वयं अनिच्छुक रहेकाले उम्मेदवार दर्ता नगरिएको हो । ‘हतारमा आएको आवेदनबाट उम्मेदवार नउठाउने कुरा भयो । स्वतन्त्रबाट उठेका कसैलाई समर्थन गर्न सकिन्छ कि भनेर छलफल भइराखेको छ’, बुर्लाकोटीले भने ।

रास्वपा नेताहरुका अनुसार स्वतन्त्रबाट उठेका राजमान मानव र कविर महर्जनमध्ये एकलाई सघाउने तयारी छ । राजमान सरसफाइ अभियन्ता हुन् भने महर्जन कांग्रेस पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button