कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा
२० कात्तिक, काठमाडौं । नामिबियाका जान निकोल लोफ्टी इटनले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
चितवनले मंगलबार विज्ञप्ति जारी गर्दै एनपीएलको लागि जान निकोल लोफ्टी इटनलाई अनुबन्ध गरेको जनाएको छ ।
चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले मर्च्यान्ट डे ल्याङ, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।
बायाँ हाते २३ वर्षीय यी ब्याट्सम्यानले गत फ्रेबुअरीमा नेपालकै कुशल मल्ल नाममा रहेको कीर्तिमान तोड्दै टी–२० आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए । अहिले त्यो कीर्तिमान तोडिएको छ र लोफ्टी इटन सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् ।
नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए ।
एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन् । कुशलले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए । अब दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।
चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटनले खुसी व्यक्त गरेका छन् ।
‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–२० क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ । अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ’, उनले भने ।
चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी इटन र मल्ल एकै टोलीमा भएको कारण एनपिएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे ।
‘नेपाली क्रिकेट समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए । अब दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्नेछन् । आफ्नो सिट बेल्ट बाँध्नुहोस्’ उनले भने ।
कुशल मल्ल मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।