गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थाको समयमा कतिपय महिलामा उच्च रक्तचापको समस्या देखा पर्छ । अन्य महिलाको तुलनामा पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका गर्भवती महिलामा अझ बढी हुन्छ ।
गर्भावस्थामा उच्च रक्तचाप हुने कारणमध्ये एउटा ‘प्रेग्नेन्सी इन्डेक्स हाइपो टेन्सन’ हो । गर्भावस्थामा शरीरमा रक्तचाप बढाउने रसायन निस्कन्छ, जसले गर्दा रक्तचाप बढ्छ । यस्तो समस्या गर्भावस्थामा देखा पर्छ भने डेलिभरी भएको १२ हप्ताभित्र हराएर जान्छ ।
गर्भावस्थामा उच्च रक्तचापको समस्या हुने अन्य कारण
सामान्य अवस्थामा पनि उच्च रक्तचाप भइरहेका महिलामा गर्भावस्थामा रक्तचाप बढ्ने गर्छ । पहिलादेखि नै उच्च रक्तचाप भएका महिलामा गर्भावस्थामा रक्तचाप अझै बढ्यो भने त्यसलाई मेडिकल भाषामा ‘क्रोनिक हाइपर टेन्सन’ भन्ने गरिन्छ ।
साथै गर्भवती महिलामा मोटोपन र मधुमेहको समस्या छ भने उच्च रक्तचापको समस्या देखिने सम्भावना बढी हुन्छ ।
ढिलो उमेरमा विवाह गर्ने र ढिलो उमेरमा बच्चा जन्माउने, दैनिक शारीरिक व्यायाम नगर्ने, खानपानमा ध्यान नदिने, नुन र काब्रोहाइड्रेटयुक्त खानेकुरा बढी खाने महिलामा पनि गर्भावस्थामा उच्च रक्तचाप हुने जोखिम हुन्छ ।
कतिपय महिलामा वंशाणुगत कारणका साथै रक्तनली तथा मिर्गौलासम्बन्धी रोग भएमा उच्च रक्तचापको समस्या हुन्छ । उच्च रक्तचापको समस्याले गर्भवती महिला र बच्चा दुवैलाई असर गर्छ । रक्तचापले प्रत्यक्ष रूपमा रक्तनलीमा असर गर्ने भएकाले बच्चाले आमाको पेटभित्र आवश्यक मात्रामा पोषकतत्व पाउन सक्दैन । जसले बच्चाको वृद्धिविकास सही मात्रामा हुन सक्दैन ।
रक्तनलीहरुमा रक्तचाप बढेपछि सालको माध्यमबाट बच्चामा जाने रक्तसञ्चारलाई असर गर्छ । बच्चालाई रगतको मात्रा राम्रोसँग नपुग्ने, बच्चा कम तौलको निस्किने, रगतको माध्यमबाट बच्चालाई आवश्यक पर्ने पोषण तत्त्व नपुग्ने हुन्छ ।
विश्वको तथ्यांक हेर्ने हो भने पनि अस्पतालमा आमाहरूमा धेरै समस्या हुने र मृत्यु हुने कारण उच्च रक्तचाप हो । रक्तचाप नियन्त्रणमा भएन भने आमाहरूमा स्ट्रोक, हृदयघात, मुटु फेल हुने, मिर्गौला फेल हुने समेत हुनसक्छ ।
गर्भावस्थामा उच्च रक्तचाप भए के गर्ने ?
‘प्रेग्नेन्सी इन्डेक्स हाइपो टेन्सन’ भएको हो भने डेलिभरी भएको तीदेखि चार हप्ताबाट नै प्रेसर नर्मल हुँदै जान्छ । प्रेसरको औषधि खानु पर्दैन ।
तर डेलिभरी भएको १२ हप्ता बित्दा पनि रक्तचाप घटेन, पटक-पटकको परीक्षणमा रक्तचाप १४०-९० भन्दा बढी भएको अवस्थामा त्यो ‘क्रोनिक हाइपर टेन्सन’ हो । उच्च रक्तचाप देखिएको अवस्थामा गर्भमा रहेको बच्चालाई असर नगर्ने खालको औषधि प्रयोग गर्न सकिन्छ ।
यस अवस्थामा हुने उच्च रक्तचापको जोखिमलाई कम गर्न बेलाबेलामा रक्तचाप नाप्नुपर्ने हुन्छ । मोटोपन बढी भएका महिलाले घटाउनुपर्ने हुन्छ ।
गर्भावस्थामा हुने उच्च रक्तचापको समस्या र अन्य स्वास्थ्य समस्याबाट बच्न नियमित रूपमा स्वास्थ्य जाँच गर्नुपर्छ ।
पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएका महिलाले पहिले स्वास्थ्य जाँच गरेर र प्रेसर नियन्त्रणमा ल्याएर बच्चालाई हानि नगर्ने औषधि सुरु गरेर मात्र गर्भधारणको योजना बनाएको खण्डमा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।
सुगर, थाइराइड जस्ता हार्मोनल समस्या छ भने पनि पहिले स्वास्थ्य जाँच गराएर मात्र गर्भवती हुनु उपयुक्त हुन्छ ।
नियन्त्रण गर्ने उपाय
गर्भावस्थामा हुने उच्च रक्तचापबाट बच्न तथा नियन्त्रण गर्न जीवनशैली परिवर्तन गर्नुपर्छ । दैनिक व्यायाम, योग, ध्यान गर्ने, अनावश्यक तनाव नलिने, धुम्रपान, मदिरापान नगर्ने, मोटोपन घटाउने, नुन धेरै खाने खाने बानी छ भने कम खाने, धेरै गुलियो, कार्बोहाइड्रेट बढी भएको खाना तथा धेरै चिल्लो खाना कम खाने र हरियो सागपात तरकारी र फलफूल प्रशस्त मात्रामा खाने गरियो भने रक्तचापबाट बच्न र नियन्त्रण गर्न सकिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।