Main

ग्रेट हिमालयन क्रिकेट एकेडेमी विजयी

१५ जेठ, काठमाडौं । एनसीसीएस भ्याली कप टी-२० क्रिकेट प्रतियोगितामा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) विजयी भएको छ ।

माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा जीएचसीएले ओसिस क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गरेको हो ।

ओसिसले दिएको १२३ रनको लक्ष्य जीएचसीएले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । टोलीको जितमा खेलको प्लेयर अफ द म्याच भएका सम्राट भुसालले अर्धशतकीय पारी खेले । उनले ५० बलमा अविजित ५३ रन बनाए । त्यस्तै अशोक पौडेलले अविजित ३४ रनको योगदान दिए । रुपेश श्रीवास्तवले १३ रन बनाए । ओसिसका लागि सुमित नेवारले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको ओसिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो । टोलीका निश्चल श्रेष्ठले अविजित २६ रन बनाए । त्यस्तै केशव यादव (१८) र शंकर रानाले १७ रन बनाए । जीएचसीएका लागि रुपेश श्रीवास्तव, अभिशेख थापा र चन्द्रकान्त पौडेलले समान १-१ विकेट लिए ।

आजै भएको महिलातर्फको खेलमा काठमाडौले भक्तपुरलाई ९ विकेटले पराजित गरेको छ ।
भक्तपुरले दिएको ४६ रनको लक्ष्य काठमाडौंले ९.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । टोलीको जितमा अस्मिना खरेलले २५ बलमा १९ र कृष्णमा गुरुङले ९ रनको अविजित योगदान दिइन् । भक्तपुरका लागि अनुशा रोकाले १ विकेट लिइन्।

यसअघि टस हारेर ब्याटिङ गरेको भक्तपुरले १६.३ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । टोलीका लागि अलिशा खड्काले सर्वाधिक ८ रन बनाइन् । काठमाडौंका लागि बिपिशा शाहीले ३ विकेट लिइन् । त्यस्तै अस्मिता खरेल, संस्कृति फुयाल र एलि यादवले १-१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच काठमाडौंकी बिपिशा शाही भइन् ।

प्रतियोगिता भक्तपुर जिल्ला क्रिकेट संघको आयोजनामा १९ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ तीन टोलीको सहभागिता रहनेछ।

पुरुषतर्फ भक्तपुर क्रिकेट सेन्टर, भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टर, बल पार्क स्पोर्टस् इभेन्ट एन्ड एकेडेमी ललितपुर, ग्रेट हिमालयन क्रिकेट एकेडेमी ललितपुर, क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौं र ओसिस क्रिकेट एकेडेमी काठमाडौं सहभागी हुनेछन् ।

पुरुषतर्फका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । यसैगरी महिलातर्फ काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्रिकेट संघको सहभागिता रहनेछ ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु मूलपानी क्रिकेट मैदानमा हुनेछ। महिला र पुरुष दुवैतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button