Main

चापागाउँ बाढी प्रभावित क्षेत्रमा खानेपानी सुचारू गर्ने मन्त्री यादवको निर्देशन

२९ असोज, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले गोदावरी नगरपालिका अन्तर्गत चापा गाउँस्थित बाढीले प्रभावित भएको क्षेत्रमा खानेपानी सेवा तत्काल सुचारु गर्न निर्देशन दिएका छन् ।

मन्त्री यादवले आज ललितपुरको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रमा बाढीका कारण भएको खानेपानी मुहानको क्षतिको जानकारी लिन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरुलाई उक्त निर्देशन दिएका हुन् ।

मन्त्री यादवले बाढीपहिरोका कारण गोदावरी नगरपालिका स्थित चापागाउँ क्षेत्रमा अवरुद्ध भएको खानेपानी सेवा आपूर्ति तत्काल सुचारु गर्न कुनै ढिलाइ नगर्न समेत निर्देशन दिए । उनले भने, ‘खानेपानी नागरिकको आधारभूत अधिकार हो । संघीय सरकार, स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुर्नस्थापना कार्य सुरु गर्नु होला।’

मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्याप्रति संवेदनशील रहेको प्रस्ट पार्दै भने, ‘जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो, म व्यक्तिगत रुपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिँड्दिन।’

उनले भविष्यमा यस्ता विपद्हरु दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो औँल्याए ।उनले भने, ‘अबको समय सङ्कट समाधान मात्र होइन, दीर्घकालीन सुधारको हो । हामी छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्दैछौँ।’

साथै, पुर्नस्थापनामा स्थानीय समुदायको सहभागिता र सहयोग सुनिश्चित गर्न आग्रह गर्दै उनले भने, ‘पुनर्निर्माणमा सबैको हातेमालो आवश्यक छ । सङ्कट समाधानमा हामी सफल हुन्छौँ भन्ने विश्वास छ।’

उनले पुर्नस्थापनाको प्रयासमा स्थानीय बासिन्दाहरुको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भने, ‘तपाईहरुको सहकार्य बिना पुर्नस्थापनाको प्रयास सफल हुँदैन । म विश्वास दिलाउन चाहन्छु कि पानी सेवा छिट्टै पुन: सञ्चालनमा आउँछ । यस्ता विपद्हरुमा अझ तयारीका साथ सामना गर्न हामी सक्षम हुँदैछौँ।’

असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण क्षती पुर्‍याएको नल्लु, बासुकी र देवकी मुहान क्षेत्रको जानकारी लिएर फर्किएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button