चीनमा आइफोनको बिक्रीमा उच्च गिरावट, स्मार्टफोन प्रयोगकर्ता हुवावेतर्फ आकर्षित

विश्वमा स्मार्टफोनको सबैभन्दा ठूलो बजारको रुपमा रहेको चीनमा आइफोनको बिक्री उल्लेख्य मात्रामा घटेको छ ।
हालै सार्वजनिक एक रिपोर्ट अनुसार सन् २०२४ को पहिलो ६ हप्तामा चिनियाँ बजारमा आइफोन बिक्री २४ प्रतिशतले घटेको हो ।
यो तथ्यांकले एप्पल तथा अन्य पश्चिमा प्रविधि कम्पनीहरुका लागि महत्वपूर्ण बजार झनै समस्याग्रस्त बनेको देखाएको छ।
काउन्टर प्वाइन्ट रिसर्चका अनुसार यस अवधिमा चीनमा समग्र मोबाइल फोन बजारमा ७ प्रतिशतको गिरावट आएको छ र एप्पल, ओप्पो तथा भिभो लगायतका कम्पनीले गिरावटको सामना गर्नुपरेको छ।
तथापि सुस्ताएको चिनियाँ अर्थतन्त्र तथा राष्ट्रवाद र व्यापार तनावका बीच एप्पलले भने वर्ष दिनदेखि नै चीनमा समस्या भोगिरहेको छ ।
कुनै समय एप्पलका ग्राहक मानिने चिनियाँ उपभोक्ताहरु अहिले आफ्नो राष्ट्रिय ब्राण्डको रुपमा रहेको हुवावेतर्फ मोडिएका रिपोर्टमा उल्लेख छ ।
काउन्टर प्वाइन्टका वरिष्ठ विश्लेषक मेंगमेंग झांगका अनुसार हुवावेको पुनरुत्थानले उच्च मूल्यका स्मार्टफोनको वर्गमा एप्पललाई कडा टक्कर दिइरहेको छ भने ओप्पो, भिभो तथा साओमीको आक्रामक रुपको सुपथ मूल्यले मध्यम मूल्यका स्मार्टफोनको क्षेत्रमा तीव्र प्रतिस्पर्धाको अवस्था सिर्जना गरेको छ।
उनी भन्छन्, ‘आइफोन १५ महान डिभाइस भएता पनि अघिल्लो संस्करणको तुलनामा यसमा कुनै उल्लेख्य अपग्रेड छैन । त्यसैले आइफोन प्रयोगकर्ताहरु अहिलेको लागि पुरानै पुस्ताको आइफोनले काम चलाउने मनस्थितिमा पुगे ।
योसँगै एप्पल कम्पनीको शेयर मूल्यमा मंगलबार २.८ प्रतिशतको गिरावट आयो । खासगरी चीनमा कमजोर बन्दै गएको आइफोनको बिक्रीका बीच यो वर्ष एप्पल कम्पनीको शेयर मूल्यमा ११.६ प्रतिशतले गिरावट आइसकेको छ ।
स्मरण रहोस् एप्पलका लागि चीन निकै महत्वपूर्ण तथा अमेरिकापछिको सबैभन्दा ठूलो बजारको रुपमा रहेको छ ।
यसअघि गतवर्ष नयाँ डिभाइस लञ्चका बेला एप्पलले उच्च आम्दानी गर्ने गरेको थियो । साथै कम्पनीले मन्दीमा केही सुधार गर्ने अभिप्रायले आइफोनको मूल्यमा छुटको अफरलाई पनि निरन्तरता दिने गरेको छ ।
गत वर्ष हुवावेले बजारमा ल्याएको बहुचर्चित मेट ६० मोडेलको स्मार्टफोनले चिनियाँ बजारमा आइफोनलाई पछि पारिरहेको छ ।
चीनको आफ्नै चिप प्रयोग गरिएको उक्त अत्याधुनिक स्मार्टफोनप्रति चिनियाँ प्रयोगकर्ताहरु आकर्षित भैरहेका छन् र अमेरिकी प्रतिबन्धका बीच यसलाई चीनको प्रतिष्ठाको विषय समेत बनाइएको छ ।
गत जनवरी महिनाको तथ्यांक अनुसार चिनियाँ स्मार्टफोन बजारमा हुवावेको बजार हिस्सा १७ प्रतिशत रहँदा एप्पलको हिस्सा १६ प्रतिशत छ ।
रिपोर्ट अनुसार चिनियाँ बजारमा हुवावेका स्मार्टफोनको आपूर्ति भन्दा माग उच्च रहेको छ, अर्थात् उसले बजारको उच्च माग धान्नेगरी उत्पादन गर्न सकिरहेको छैन ।
सिएनएनबाट
– यस समाचारको श्रोत : Online Khabar हो ।