Main

छुवाछूत सभ्य समाजका लागि अस्वीकार्यः प्रदेश प्रमुख परियार

८ चैत, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले छुवाछूत प्रथा सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन् ।

५९औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च)को अवसरमा बिहीबार शुभकामना दिंदै प्रदेश प्रमुख परियारले जातीय विभेद मानवीय सभ्यताविरुद्धको अपराध भएको बताएका हुन् ।

प्रदेश प्रमुख परियारले सरकार र सरोकारवाला सबैलाई समाजमा विद्यमान सबै प्रकारका विभेदविरुद्ध दृढतापूर्वक क्रियाशील रहन आह्वानसमेत गरेका छन् ।

‘भेदभाव प्रथाको अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरण चाहिन्छ,’ उनले भनेका छन्, ‘यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता पर्दछ ।’

समाजमा विद्यमान पुरातनवादी सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण अहिले पनि जातीय भेदभाव तथा छुवाछूत प्रथा समाजमा विद्यमान रहेको उनले बताएका छन् । ‘छुवाछूत प्रथा सभ्य समाजको अभिशाप भएको प्रदेश प्रमुख परियारको भनाइ छ ।

परियारले नेपालको संविधान २०७२ अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रुपमा लिंदै त्यसलाई निषेध गरेको बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button