Main

जग्गा भाडामा लगाएको विवरण पठाउन स्काउटलाई खेलकुद मन्त्रालयको पत्र

१४ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले बुधबार ६ बुँदे पत्र लेख्दै पूर्ण विवरण पठाउन अनुरोध गरेको हो । पत्रमा नेपाल स्काउट र श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच जग्गा भाडामा लिनेदिने सम्बन्धी पहिलो सम्झौताको विवरण पठाउन भनिएको छ । उक्त प्रालिलाई भाडामा लगाएको रकम र मिति मन्त्रालयले माग गरेको छ ।

व्यवसायिक भवन र जग्गा भाडामा दिने सम्बन्धमा एउटै सम्झौता भएको हो वा अलग-अलग सम्झौता भएको हो ? भनी स्पष्ट पार्न मन्त्रालयले स्काउटलाई अनुरोध गरेको छ ।

मन्त्रीस्तरको निर्णयबाट २८ मंसिर २०७५ मा निर्णय भएअनुसार ‘सम्झौता नगरी अनाधिकृत व्यक्ति वा संस्थालाई आफ्नो स्वामित्वमा रहेको जग्गा कब्जा गरी स्थायी संरचना निर्माण गरी सक्दासमेत कारबाही नगर्ने नेपाल स्काउटका जिम्मेवार पदाधिकारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने’ पत्र लेखिएकोमा त्यस सम्बन्धमा हालसम्म भएको कारबाहीको अवस्थाबारे पनि जानकारी मागिएको छ ।

स्काउटले व्यवसायिक भवन भाडामा लगाउँदा त्यस वापत भाडा रकम प्राप्त भए, नभएको जानकारी मन्त्रालयले मागेको छ । उच्च अदालत पाटनले १३ असार २०७९ मा गरेको फैसला कार्यान्वयनको प्रगतिको विवरण पनि मन्त्रालयले मागेको छ ।

श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालि नेपाली कांग्रेसका सांसद दीपक खड्काको स्वामित्वमा छ । लैनचौरस्थित स्काउटको जग्गा भाडामा लिएर खड्काले ‘लैनचौर व्याङ्केट’ सञ्चालन गरिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button