Main

जनसभा गरेर प्रधानमन्त्रीको प्रतिरक्षा

७ मंसिर, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले ठूलै शक्ति परिचालन गरेर दरबार मार्गमा जागरणसभा गरेको छ । यो सभा गर्न दुई सातादेखि नेताहरू खटिएका थिए ।

नागरिकमा बढ्दो निराशा र अराजकताका कारण विधिको शासन र कानुनी राज्य कमजोर बनिरहेको निष्कर्ष सहित एमालेले सभा गर्नुपरेको बताएको थियो ।

तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउने नभएर प्रष्टोक्ति दिन समय खर्चिए । प्रधानमन्त्री ओलीको मुख्य जोड यो सरकारको स्थायित्वप्रति विश्वास दिलाउने थियो ।

‘२०८४ सालको मंसिरसम्म अहिलेको समीकरण रहन्छ, सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ’ प्रधानमन्त्रीले भनेका थिए । तर, यो सरकारको विपक्षमा रहनेहरूले सरकार ढल्ने भाका सारिरहेको बताए ।

‘सरकार बन्दै बन्दैन, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कट्यो । … तिहार देख्दैन, त्यो पनि देख्यो । ..अब भाका राख्दैछन्, फरवरीको’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

एमाले र आफूसँग देश बनाउने सपना मात्र भएकाले यो सरकार टिक्नेमा निर्धक्क हुनुपर्ने प्रधानमन्त्री ओलीको तर्क थियो । ‘कुनै कमिसनखोरी गर्न सरकारमा गएको होइन, भ्रष्टाचार गर्न होइन । कमाउनका लागि होइन, आफ्ना मान्छे पोस्नका लागि होइन,’ ओलीले भने ।

आफू नेतृत्वको वर्तमान सरकार र एमालेविरुद्ध कसैले केही गर्न नसक्ने प्रधानमन्त्रीले विश्वास दिलाए । ‘नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन, अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्ने छैन, अहिलेको सरकारलाई पनि कसैले हल्लाउन सक्ने छैन,’ प्रधानमन्त्रीले भने ।

सरकार ढल्दैन भन्ने विश्वास दिलाउन प्रधानमन्त्री ओलीले विदेश भ्रमणको प्रशंग समेत निकालेका थिए । ‘केहीले के–के न व्यवसाय भेटाए जस्तो पहिले कता जानुपर्ने, कता गयो, अपरिपक्क भयो भने,’ प्रधानमन्त्रीले भने, ‘कस्तो हुन्छ परिपक्क भन्या ? कता जानुपर्ने ? .. यो वाहियात, कायर कुराहरु हुन् ।’

प्रधानमन्त्री ओलीले भारत भन्दा पहिले चीन भ्रमण हुनु स्वभाविक रहेको तर्क गरे । पहिले चीन भ्रमण हुँदैमा यो सरकार नढल्ने विश्वास दिलाउन प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण उदाहरणीय हुने पनि बताए ।

‘त्यतिकै यसो घुमेर आऊँ भनेर चीन जान लागेको होइन । देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसैगरी हाम्रा भ्रमणहरूलाई सफलता पूर्वक उल्लेख्य ढंगले प्रस्तुत गर्ने गरेका छौं । र, उदाहरणीय पनि हुनेछ यो कुरा ढुक्कले म भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

आरोपहरूको खण्डन

जनासभाको अर्को उद्देश्य एमाले नेतृत्वसँग जोडेर प्रचार गरिएको कान्डहरूबारे प्रष्टाउनु रहेको देखियो । यति, ओम्नी, गिरीबन्धु हुँदै कम्बोडियामा लगानीसम्मका प्रचारको अध्यक्ष ओली र महासचिव पोखरेलले प्रष्ट्याउन खोजेका थिए ।

भ्रष्टाचार भनेर प्रचार गरिएका कुनै पनि मुद्दामा एमाले नेताहरुको गल्ती नरहेको अध्यक्ष ओली र महासचिव पोखरेलले जिकिर गरे । महासचिव पोखरेलले त आवश्यक परे छानबिनकै निम्ति एमाले तयार हुने बचन पनि दिए । ‘छानबीन गरौं न, के फरक पर्छ !,’ पोखरेलको चुनौती थियो ।

विशेष गरी कम्बोडियाको टेलिकमसँग जोडेर हालसालै भइरहेको प्रचारको खण्डनमा ओली र पोखरेलले समय खर्चिए । ‘त्यहाँ लगानी भएको प्रमाणित गरे, थपेर दोब्बर दान दिने भनिसक्नु (केपी ओलीले) भएको छ,’ महासचिव पोखरेलले भनेका थिए ।

महासचिव पोखरेलसँगै भाषा मिलाउँदै अध्यक्ष ओलीले पनि आरोप तथ्यमा आधारित नभएको बताए । ‘महासचिव शंकर पोखरेलले भनिसक्नु भएको छ, हामीमाथि लगाइएको आरोपहरू वास्तवमा ती खण्डन गर्न लायकका, चर्चा गर्न लायकका पनि छैनन्,’ अध्यक्ष ओलीले भने, ‘ती कुनै कुरा पट्याउँदा पनि पट्याउँदैनन् (जनताले) । उनीहरु आफैं बोल्छन्, एकछिनपछि युट्युब खोलेर आफैं सुन्छन् । अनि आफैं दंग पर्छन् ।’

ओलीले भ्रष्टाचारका प्रकरणहरूमा एमालेतिर औंला नउठाउन चेतावनी पनि दिए । ‘भ्रममा पर्दैनन् जनता, जनताले देखेको छ कसले कति कमाएको छ, कसले कति कमाएको छैन,’ उनले चुनौती दिए, ‘विभिन्न पार्टीका साथीहरूलाई भन्नु चाहन्छु, तपाईंहरू एमालेतिर औंला ठड्याएर बोलिरहनुभएको छ, तपाईंहरू के साँच्चै बहस गर्न सक्नु हुन्छ एमालेसँग ?’

कम्बोडियामा लगानी गरेको प्रचार गर्ने दुर्गा प्रसाईं मात्र नभएर त्यस्तो प्रवृत्तिलाई नै अन्त्य गरिने ओलीले घोषणा गरे । गत ४ मंसिरमा पक्राउ परेका प्रसाईंको नाम नलिइकन ओलीले तथ्यहीन झुटो प्रचार गर्नेमाथि कानुनी कारबाही हुने बताए ।

सहकारी बचत रकम अपचलन मुद्दामा रवि लामिछाने पक्राउ परेपछि रास्वपा कार्यकर्ताबाट एमालेविरुद्ध भइरहेको नाराबाजीप्रति ओलीले कडा भाषामा चुनौती दिएका छन् । ‘आफैं सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? अरूलाई गाली गर्ने ?’, प्रधानमन्त्रीले प्रतिबद्धता गरे, ‘कुनै पनि प्रकारका भ्रष्टाचार सह्य हुने छैन । कुनैपनि प्रकारका ठगी सह्य हुने छैन ।’

प्रधानमन्त्री ओलीले रास्वपा सभापति रवि लामिछानेमाथि कुनै दयाभाव नदेखाइने सन्देश दिएका छन् । ‘कोही पनि निर्दोष फस्दैन, कुनै पनि निर्दोषलाई फसाउन दिइने छैन,’ प्रधानमन्त्री ओलीले अगाडि भने, ‘कोही पनि दोषीलाई उम्कन दिइने छैन, जोसुकै होस् ।’

एमाले अध्यक्ष ओली र महासचिव पोखरेलको जोड भने पार्टीको आकर्षण बढाउन केन्द्रित थियो । जसका लागि ओली नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त महासचिव पोखरेलले प्रस्तुत गरे ।

जसक्रममा महासचिव पोखरेलले लोडसेडिङ अन्त्य गर्ने कामको नेतृत्व ओलीले गरे पनि जस नपाइएको दुखेसो गरे ।

‘दैनिक १८ घण्टा लोडसेडिङ हुन्थ्यो, केपी ओली प्रधानमन्त्री भएपछि नेपालको जलस्रोतमा देखिएको समस्या समाधान गरेर आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने येजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली रहनुभयो,’ उनले भने, ‘तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कोलाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ ।’ ओली नेतृत्वमा देशलाई सुरुङ युगमा प्रवेश गराउनेसम्मको काम भएको दाबी गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button