Main

जहाज नउडेपछि रविलाई पोखरा विमानस्थलको यात्रु प्रतीक्षालयमै फर्काइयो

२७ कात्तिक, पोखरा । मौसमका कारण जहाज नउडेपछि रुपन्देही लान लागिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थलको यात्रु प्रतीक्षालयमै फर्काइएको छ । बिहान ७: ४५ को बुद्ध एयरबाट रुपन्देही लैजाने तयारीका साथ जहाजमा चढाइएको थियो ।

तर, मौसममा आएको खराबीका कारण जहाज नै नउडेपछि उनलाई यात्रु प्रतीक्षलयमै फर्काइएको हो ।

पोखरा विमानस्थलतर्फ आकाश खुले पनि भैरहवा विमानस्थलको आकास नखुल्दा जहाज उड्न नसकेको विमानस्तलकी सूचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् । ‘पोखरातर्फ आकास खुलेपछि भैरहवा विमानस्थल क्लोज छ । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज पनि अवतरण गर्ने स्थिति नभएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमै भर्खरै ल्याण्ड भएको छ,’ उनले भनिन् ।

रविलाई भैरहवा लैजानका लागि जहाजमा चढाइसकिएको थियो । तर, भैरहवाको आकास नखुलेपछि फेरि यात्रु प्रतीक्षालयमै फर्काएको प्रहरीले जनाएको छ । अझै केही समय विमानस्थलमै रोकिएर प्रतिक्षा गर्ने कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । गाडीमार्फत लैजाने तय नभएको उनको भनाइ थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविलाई पछिल्लो पटक १३ दिनको म्याद थपेर बयानका लागि रुपन्देही लान लागिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी प्रहरणमा पनि रविलाई पक्राउ पुर्जी जारी भएकाले बयानका लागि लैजान लागिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको प्रतिवेदनमा छ । रविमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button