Main

जाडोमा बच्चाको खानपानमा कसरी ध्यान दिने ?

जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्छ । त्यसैले खानेकुरामा विशेष ख्याल पुर्‍याउनुपर्ने हुन्छ । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने विभिन्न समस्याले सताउने जोखिम हुन्छ ।

त्यसैले बच्चालाई बाह्य वातावरणसँग घुलमिल गराउन त्यही किसिमको खानपान, स्याहारसुसार आवश्यक हुन्छ । यतिबेला न्यानो लुगा लगाउने मात्र होइन, पोषिलो र तातो खानेकुरा पनि दिनुपर्छ । जाडोमा बच्चालाई स्वस्थ र स्फूर्त राख्न अभिभावकले बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्छ ।

जाडोमा बच्चाको खानपान

जाडोमा बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन उनीहरूलाई प्रशस्त मात्रामा मौसमी फलफूल खान दिनुपर्छ । जाडोयाममा पाइने सुन्तला, किबी, अमला जस्ता फलफूलमा भिटामिन सी भरपुर हुन्छ, जसले बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । भिटामिन सीले चिसोबाट बचाउन मात्र होइन, छालालाई स्वस्थ राख्न र रक्तसञ्चारलाई सुधार गर्न पनि सहयोग गर्छ ।

अनार, स्याउ पनि दिन सकिन्छ । अनारले रगतमा हेमोग्लोबिनको स्तर बढाउँछ, जसले शरीरलाई ताजगी दिन्छ । स्याउमा फाइबर र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले पाचन र रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

गाजर, सखरखण्ड, चुकन्दर जस्ता तरकारी र कन्दमूलको सेवन पनि फाइदाजनक हुन्छ । गाजरमा भिटामिन ए हुन्छ, जसले आँखाको दृष्टि राम्रो बनाउँछ । सखरखण्डमा फाइबर र भिटामिन सी पाइन्छ, जसले पाचन र रोगप्रतिरोधलाई मद्दत गर्छ । चुकन्दरमा आइरन र फोलेट पाइन्छ, जुन रक्तसञ्चारलाई सुधार गर्छ र बच्चालाई ऊर्जा दिन्छ ।

बच्चाहरूलाई स्वास्थ्य राख्न बदाम, ओखर, काजू जस्ता नट्स पनि दिनुपर्छ । बदामले शरीरलाई तातो राख्छ र दिमागको विकासमा सहयोग गर्छ । ओखरमा पाइने ओमेगा–३ फ्याटी एसिडले मस्तिष्कलाई स्फूर्त राख्छ । काजूमा प्रोटिन, आइरन र जिङ्क हुन्छ, जसले शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ ।

जाडोमा बच्चालाई बाह्य वातावरणसँग घुलमिल गराउन तातो सुप र झोल पनि खुवाउनुपर्छ । जस्तै- चिकेन सुप, सागसब्जी र दालको झोल दिन सकिन्छ । तातो चिकेन सुपले बच्चालाई प्रोटिन र खनिज तत्त्वको परिपूर्ति गर्छ । सागसब्जी मिसाएर बनाएको झोलले भिटामिन र खनिजहरूको राम्रो मात्रा दिन्छ र पेटको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । दालको झोलले प्रोटिन र फाइबर दिन्छ, जसले बच्चालाई तातो र ऊर्जावान राख्छ ।

सम्पूर्ण अन्न जौ, दलिया, ओट्स जस्ता खानेकुरा पनि बच्चाको आहारमा समावेश गर्नुपर्छ । जौमा फाइबर र प्रोटिन हुन्छ, जसले बच्चालाई पाचनमा सजिलो बनाउँछ । ओट्सले लामो समयसम्म ऊर्जा दिन्छ, जसले बच्चालाई चिसोमा तातो महसुस गराउँछ ।

जाडोमा बच्चाका लागि खाना बनाउँदा मसलाको प्रयोग गर्नु पनि लाभदायक हुन्छ । अदुवा र लसुनमा एन्टिब्याक्टेरियल तत्त्व पाइन्छ, जसले चिसो र रुघाखोकीबाट जोगाउँछ । बेसारको एन्टिअक्सिडेन्ट गुणले शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । यी मसालाले न्यानो महसुस गराउँछन् र रोगप्रतिरोधात्मक क्षमता बढाउँछन् ।

जाडोमा बच्चालाई यी खानेकुरा नदिएकै राम्रो

जाडोमा बालबालिकालाई धेरै चिनी भएको क्यान्डी, चकलेट, केक जस्ता खानेकुरा एकदमै कम दिनुपर्छ । धेरै चिनीले बच्चाको रोगप्रतिरोधक क्षमता कमजोर बनाउँछ र सङ्क्रमणको सम्भावना बढाउँछ । मिठाईको सट्टामा गुलियोका लागि मह प्रयोग गर्दा स्वस्थकर विकल्प हुनसक्छ ।

आइसक्रिम, चिसो सोडा जस्ता चिसो पेय पदार्थले घाँटीमा समस्या ल्याउँछ र बच्चालाई रुघाखोकी लाग्न सक्छ । त्यसैले जाडोयाममा बालबालिकालाई यस्ता खानेकुरा नदिनु नै राम्रो हुन्छ । यसको सट्टामा तातो दूध, अदुवा चिया वा मह मिसाइएको तातो पानी दिनु राम्रो हुन्छ ।

चिप्स, नुडल्स, प्याक फुड्स जस्ता प्रशोधन गरिएको खानेकुरा र जङ्कफुडमा पोषण तत्त्व कम हुन्छ र यसले पाचनमा समस्या ल्याउन सक्छ । यसको सट्टामा बच्चालाई घरमै बनाएको पौष्टिक खाना दिनु उत्तम हुन्छ ।

समोसा, पकौडा, चिप्स जस्तो धेरै तारेको खाना बच्चालाई पचाउन गाह्रो हुनसक्छ । यसले बच्चालाई भारी महसुस गराउँछ र पेटको समस्या ल्याउन सक्छ । तेलमा तारेको खानेकुरा भन्दा उसिनेको बेक गरेका र हल्का खानेकुरा दिनु राम्रो हुन्छ ।

ध्यान दिनुपर्ने अन्य कुरा

जाडोमा बच्चालाई पर्याप्त तातो पानी र तातो दूध खुवाउनु राम्रो हुन्छ, जसले गर्दा बच्चाको शरीर हाइड्रेट रहन्छ । उनीहरूलाई बाहिर खेल्न प्रेरित गर्नुपर्छ । ताकि उनीहरूको शरीर सक्रिय हुन्छ । साथै, जाडोमा बच्चालाई घाममा बस्न प्रेरित गर्नुपर्छ । उनीहरूले प्राकृतिक भिटामिन डी पाउन सकुन्, जसले हड्डीलाई बलियो बनाउँछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button