Main

डा.बसौलालाई पुन: टेकु अस्पताल निर्देशकको जिम्मेवारी

६ असार, काठमाडौं । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौलाले पुन: जिम्मेवारी पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै बाल रोग विशेषज्ञ डा. बसौलालाई अस्पतालको आर्थिक तथा प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा. बसौला तीना साता पछि पुन: टेकु अस्पतालको निर्देशकमा फर्किएका हुन् । मन्त्री यादवले गत ११ जेठमा बसौलालाई कान्ति अस्पतालमा सरुवा गरेका थिए। । तर उक्त निर्णयको तीन सातापछि बुधबार डा. बसौलालाई पुनः टेकुमा फिर्ता पठाइएको हो ।

हुन त मन्त्रालयहरुमा हुने कर्मचारी सरुवा नियमित प्रक्रिया हो । तर, मन्त्री यादवले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ ले अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवा प्रवाहको सामान्य सिद्धान्त विपरीत सरुवा गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।

‘टेकु अस्पतालमा संक्रामक रोग बुझेका चिकित्सकलाई लैजानुपथ्यो । बालरोगका चिकित्सकलाई जिम्मेवारी दिँदा केही उपलब्धी हुँदैन’, मन्त्रालयका उच्च अधिकारी भन्छन्, ‘यस्ता व्यक्तिको काम आए जागिर खाएभन्दा अरु केही हुन् ।’

डा. बसौलाले बिहीबार बिहान पत्र बुझेसँगै टेकुमा पुगेर पदवहाली समेत गरेका छन् । टेकु अस्पतालमा निर्देशक रहेका डा. रोशन न्यौपानेलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ । पछिल्ला दिनमा मन्त्री यादवले वरिष्ठता, पद र समूहलाई ख्याल नगरी मनोमानी गर्दै आएका छन् ।

जेठको तेस्रो सातामा मन्त्री यादवले यादवले वरिष्ठलाई हटाएर कनिष्ठलाई जिम्मेवारी दिएका थिए । कोशी अस्पतालबाट ११औं मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चन्द्रलाभ झालाई हटाएर उनको ठाउँमा उनीभन्दा कनिष्ठ १० औं तहका डा. रविनराज सिंहलाई मेसुको जिम्मेवारी दिए । त्यसैगरी, ११ औं तहकै डा. श्रीराम तिवारीलाई भरतपुर अस्पतालको मेसुबाट हटाएर १० औं तहका कनिष्ठ कृष्णप्रसाद पौडेललाई मेसुको जिम्मेवारी दिएका हुन् ।

उनका यस्ता निर्णयको आलोचना सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल कर्मचारी अभाव वा पद समूह नमिलेमा ६ महिनासम्म कामकाजमा पठाउने व्यवस्था रहे पनि यसको दुरुपयोग भएको बताउँछन् ।

‘पद समूह मिलेका मानिसहरु फाजिलमा बसिरहेका छन् । आफ्नो पार्टीका मानिसलाई घुसाउने वा आर्थिक लाभको नाममा ऐन, नियम विपरीत काम भइरहेको देखिन्छ’ डा. प्याकुरेल भन्छन्, ‘मन्त्रीले आफूखुसी निर्णय गर्दा सचिवहरु मुकदर्शक भएर बस्नु लाजमर्दो हो ।’

मन्त्री यादवले उच्च अधिकारीको मनोमानी ढंगले सरुवा गर्दा स्वास्थ्य सेवामा सुधार हुन नसक्ने विज्ञ बताउँछन् । ‘पद र समूह नै नमिल्ने गरी मन्त्री यादवले सरुवा गरिहेका छन् । तर, स्वास्थ्य सचिवले अडान लिन सक्नुपथ्यो’, डा. प्याकुरेल थप्छन्, ‘नेतृत्व गर्ने ठाउँमा सेवा समूह नमिल्दा उपलब्धि हासिल हुन सक्दैन ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button