तुल्सीलाल स्मृति नेशनल टिम चेस मंसिर अन्तिम साता हुने
५ मंसिर, ललितपुर । नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा यही मंसिर २५ देखि ३० गतेसम्म तुल्सीलाल स्मृति सातौं नेशनल टिम/क्लब चेस च्याम्पियनसिप २०८१ हुने भएको छ ।
नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनको धरोहर रुपमा स्थापित नेता तुल्सीलाल अमात्यको स्मृतिमा हुन लागेको प्रतियोगिता ललितपुरको च्सासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हलमा हुनेछ ।
लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा प्रत्येक टिमबाट पाँच जना खेलाडीहरुको सहभागीता रहनेछ । प्रतियोगितामा सातै प्रदेश र विभिन्न क्लबहरु र संस्थाका गरि २५ भन्दा बढि टिमबाट १५० खेलाडीहरुको सहभागी रहने आयोजकले जनाएको छ ।
कुल ४ लाख ७० हजार पुरस्कार राशि रहेको प्रतियोगितामा विजेता टिमले २ लाख, उपविजेताले १ लाख २० हजार , तेस्रो हुनेले ६० हजार र चौथो हुनेले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरी प्रत्येक बोर्डमा उत्कृष्ट हुने पाँच जना खेलाडीहरुलाई १०-१० हजार पुरस्कारको पनि व्यवस्था गरिएकोछ ।
प्रतियोगितामा छैटौं संस्करणको विजेता दोलखा चेस होम, उपविजेता थापाथली चेस पार्क क्लब, कोशी प्रदेश बुद्धिचाल संघ, आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महानगरपालिका, भक्तपुर जिल्ला बुद्धिचाल संघ, लुम्बिनी इभेन्ट मेनेजमेन्ट टिम, सुदूर पश्चिम प्रदेश बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, काठमाडौ चेस क्लब, दोलखा बुद्धिचाल संघ, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, हेटौंडा चेस क्लब र नाइट चेस क्लब झापाको सहभागिता निश्चित भइसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।