तेस्रो महिना सामान्य घट्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता
३० असोज, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८१/८२ को तेस्रो महिना (असोज) सम्म १५ अर्ब ४२ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार असोज मसान्तसम्मको यो लगानी प्रतिबद्धता अघिल्लो वर्षको यसै अवधिको तुलनामा केही कम हो ।
२०८० असोज मसान्तसम्म १६ अर्ब ६० करोड रुपैयाँ बराबर प्रतिबद्धता आएको विभागको तथ्यांक छ । विभागका अनुसार यस वर्ष असोजसम्म १ सय ३१ उद्योग दर्ता भई उक्त रकम बराबर प्रतिबद्धता आएको हो ।
अघिल्लो वर्ष उद्योग दर्ता संख्या १ सय ५१ थियो । यस वर्ष ‘अटोमेटिक रुट’ बाट असोजसम्म १ अर्ब १ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ ।
सरकारले गत वैशाखदेखि अटोमेटिक रुट कार्यान्वयनमा ल्याएको हो । तथ्यांक अनुसार असोजमा मात्र ३४ उद्योग दर्ता भएका छन् । जसबाट ३ अर्ब ३० करोड बराबर लगानी प्रतिबद्धता आएको छ ।
असोजसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भने ५ खर्ब २७ अर्ब ३२ करोड पुगेको उद्योग विभागको तथ्यांकमा छ । यसमध्ये अटोमेटिक रुटबाट ९ अर्ब १२ करोड बराबर प्रतिबद्धता आएको छ ।
असोजसम्म दर्ता उद्योगले ६ हजार ५ सय ४३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान छ । असोजमा दर्ता भएका ३४ उद्योगले १ हजार ५ सय ४० जनालाई रोजगारी दिन सक्ने अनुमान छ ।
साना उद्योगमा ठूलो लगानी
अहिले प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धताको ट्रेन्ड हेर्दा साना उद्योगमा ठूलो लगानी आइरहेको देखिन्छ । उद्योग विभागका अनुसार असोजसम्म दर्ता भएका उद्योगमध्ये ठूला उद्योग दुइटामात्र छन् । त्यसैगरी मध्यमस्तरीय एक र बाँकी साना उद्योग रहेका छन् ।
यसरी लगानी प्रतिबद्धता आउनेमध्ये धेरैको प्राथमिकता पर्यटन उद्योगमा देखिन्छ । असोजसम्म कुल ९३ उद्योग पर्यटन क्षेत्रमा दर्ता भएका छन् । जुन कुल दर्ता उद्योगको ७१ प्रतिशत हो ।
दोस्रो स्थानमा सेवा उद्योग छ । जसमा १८ उद्योग दर्ता भएका छन् । यो १४ प्रतिशत हो । उत्पादनमूलक उद्योग १२, सूचना प्रविधि ५ र कृषिमा २ उद्योग दर्ता भएको तथ्यांकमा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।