त्रिविमा शिक्षामन्त्रीसँगै बसेर उपकुलपतिले सुनाए सुधारका योजना

२५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले संस्थागत सुधारका लागि विभिन्न समिति गठन गरेको जानकारी दिएको छ ।
शिक्षामन्त्री तथा सहकुलपति सुमना श्रेष्ठलाई समेत विश्वविद्यालयमा निम्त्याउँदै उपकुलपति प्रा. डा. केशरजंग बरालले मंगलबार पत्रकार सम्मेलनमार्फत समिति गठनको घोषणा गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले भोगिरहेका समस्या समाधान र शैक्षिकस्तर सुधारका लागि समिति गठनको निर्णय भएको उनको भनाइ थियो ।
त्रिविलाई विश्वकै महत्त्वपूर्ण शैक्षिक गन्तव्यको रूपमा विकसित गर्न, शैक्षिक, प्रशासनिक, आर्थिक एवम् व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि विभिन्न समिति गठन गरेको बताइएको छ ।
रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालका अनुसार त्रिविको जनशक्ति व्यवस्थापन र दरबन्दीको अवस्था अध्ययन गर्न प्रा.डा नबराज कँडेलको संयोजकत्वमा जनशक्ति तथा दरबन्दी पुनरावलोकन एवम् व्यवस्थापन समिति बनाइएको छ ।
समक्षकताका सम्बन्धमा उत्पन्न समस्या निराकरण गर्न प्रा. डा. भीमसेन देवकोटाको संयोजकत्वमा समकक्षता सम्बन्धी कार्यविधि संशोधन समिति गठन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिको सोचपत्रबीच तादाम्यता मिलाइ विश्वविद्यालयमा नीतिगत एकरूपता कायम गर्न त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्रा. डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति बनाइएको छ ।
त्रिवि अन्तर्गतका निकायमा तोकिएका पदाधिकारीहरू नियुक्त गर्दा अपनाउनुपर्ने आधार तथा मापदण्ड तयार गरी सुझाव सहितको प्रतिवेदन पेस गर्न प्रा. डा. पुष्कर बज्राचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।
योसँगै पदपूर्तिसँग सम्बन्धित पाठ्यक्रम परिमार्जन गरी सेवा आयोगमार्फत अनुसन्धानको क्षेत्रमा उल्लेखनीय कार्य गरेकाहरूलाई ‘फास्ट ट्रयाक’बाट प्राध्यापकमा नियुक्त गर्ने गृहकार्य भइरहेको समेत पत्रकार सम्मेलनका क्रममा जानकारी दिइएको छ ।
जनशक्ति व्यवस्थापन र दरबन्दीहरूको अवस्था अध्ययन गर्न बनेको समितिको सुझाव अनुसार सेवा आयोगमार्फत विज्ञापन गराई शिक्षक कर्मचारीहरूको पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइने रजिष्ट्रार रिजालले बताए ।
त्रिविले सबै पदाधिकारी पाएको करिब एक महिनापछि आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति प्रा. डा. केशरजंग बरालले त्रिविको संस्थागत सुधारका लागि काम अगाडि बढिसकेको जिकिर गरे ।
उपकुलपतिको सोचपत्रमा उल्लिखित शैक्षिक पात्रोलाई व्यवस्थित गरी कार्यान्वयन गर्ने तथा यसअघि नै केन्द्रीय विभागहरूलाई स्कुल मोडलमा लैजाने कामलाई क्रमशः अघि बढाउने, त्रिविलाई संघीयताको ढाँचा अनुरूप पुनर्संरचना गर्ने र छात्रवृत्तिलाई व्यवस्थित गरी विद्यार्थीलाई थप लाभान्वित बनाउने त्रिवि पदाधिकारीहरूले बताए ।
उत्तरपुस्तिका हराएको प्रतिवेदन अध्ययनकै क्रममा
विद्यार्थीका हराएका उत्तरपुस्तिकाहरूका सम्बन्धमा छानबिन गर्न बनेको समितिले पेस गरेको प्रतिवेदन अध्ययन भइरहेको त्रिविको भनाइ छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षाशास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) को उत्तरपुस्तिका हराएको थियो ।
उत्तरपुस्तिका हराएपछि विश्वविद्यालयले १५ चैतमा पूर्व रजिष्ट्रार प्रा. डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
समितिले छानबिन प्रतिवेदन बुझाइसकेको र उक्त प्रतिवेदनको अध्ययन भइरहेको त्रिविले जनाएको छ । समितिले प्रतिवेदनमार्फत दिएको सुझावहरूलाई यथाशीघ्र कार्यान्वयन गर्ने रजिष्ट्रार रिजालले बताए ।
परीक्षा प्रणालीलाई सरलीकरण गर्न क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूलाई थप जिम्मेवार बनाइ विकेन्द्रीकरण गर्ने निर्णय गरिएको त्रिविले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।