Main

दशक बित्दा पनि सकिएन गरिब गणना

२१ चैत, काठमाडौं ।  सरकारले २०७० जेठदेखि सुरु गरेको गरिब घर परिवार गणना अझै सकिएको छैन । २३ जिल्लाबाट सुरु भएको गरिब घर परिवार गणना अहिलेसम्म नसकिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका एक अधिकारीका अनुसार देशभरिका ७ पालिकाबाट गणनाको विवरण अझै आएको छैन ।

उनका अनुसार बागमती प्रदेश काठमाडौं महानगरपालिका, सप्तरीका अग्निसाइर कृष्ण सवरन, महादेवा, तिरहुत र छिन्नमस्ता गाउँपालिका, धनुषा औरही गाउँपालिका तथा दाङ तुलसीपुर उपमहानगरपालिकामा अहिलेसम्म गरिब घर परिवारको गणना विवरण नआएको हो ।

‘सकिनुपर्ने त धेरै अगाडि नै हो, कतिपय पालिकाले गणकहरू नै नियुक्त गरेका छैनन् । पालिकाहरूले नियुक्त गरेका गणकलाई मन्त्रालयले तालिम र बजेट नै दिन्छ,’ मन्त्रालयका ती अधिकारीले भने, ‘तर, नियुक्त नभएकै कारण गणना ढिला भइरहेको हो ।’

यो वर्ष सकिँदैन : मन्त्रालय

गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले चालु आर्थिक वर्ष २०८०/८१ मा पनि गरिब घर परिवार गणनाको काम गर्न नसकिने बताए ।

‘एक दशक भयो तर अहिलेसम्म सकिएको छैन, यो वर्ष पनि सकिँदैन,’ भट्टले भने, ‘आगामी आर्थिक वर्ष चाहिँ सकिन्छ जस्तो लागेको छ ।’

सरकारले २०६९ मा गरिब घर परिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरण निर्देशिका जारी गरेर समन्वय बोर्डमार्फत २०७० सालबाट गरिब घर परिवार गणना सुरु गरेको थियो ।

२०७४ देखि उक्त बोर्ड मन्त्रालयमा गाभिएर मन्त्रालयले स्थानीय तहमार्फत गणनालाई निरन्तरता दिए पनि अहिलेसम्म नसकिएको हो ।

गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार बाँकी पालिकाको गणना गरेपछि  तथ्यांक संकलनको काम सकिने छ ।

‘हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचयपत्र नवीकरण गरिएको छैन । तथ्यांक संकलनपछि सबै विवरण अद्यावधिक हुनेछ,’ सापकोटाले भने ।

उनका अनुसार गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचयपत्रका आधारमा हुनेछ । दीर्घ रोग उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचयपत्रका आधारमा हुनेछ ।

मन्त्रालयले विवरण आइनसकेको बताएपनि दाङको तुलसीपुर उपमहानगरपालिकाले भने गणकहरुबाट तथ्यांक संकलन गरेर मन्त्रालयमा विववरण पठाइसकेको दाबी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले मन्त्रालयलाई गरिब घरपरिवारको तथ्यांक फागुन मसान्तमै बुझाइसकेको दाबी गरे । उनले भने, ‘यहाँबाट बुझाएर पठाइसकेका छौं तर मन्त्रालयबाट अन्तिम सर्वेक्षण रिपोर्ट आएको छैन ।’

काठमाडौंमा बल्ल सुरु हुँदै

संघीय राजधानी काठमाडौं महानगरपालिकामै भर्खरै गणना सुरु हुन लागेको छ । महानगरमा २५ चैतदेखि गरिब घर परिवार गणना सुरु हुनेछ ।

गणना कार्यमा खटिने गणक र गणकको सुपरीवेक्षण गर्ने सुपरीवेक्षकका लागि मंगलबारदेखि महानगरले थापाथली इन्जिनियरिङ क्याम्पसमा चारदिने तालिम सुरु गरेको छ ।

तालिम सुरु गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले अवस्था अनुमान गरेर विवरण नभर्न गणकहरूलाई निर्देशन दिएका छन् ।

‘महानगरभित्र रहेको  गरिब तथ्यांकबाट नीति, योजना तथा कार्यक्रम निर्माण हुन्छ । फिल्ड जानुअघि यसको संवेदनशीलता बुझ्नुपर्छ,’ उनले भने ।

चारदिने तालिममध्ये पहिलो दुई दिन सैद्धान्तिक र पछिल्ला दुई दिन प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचयपत्र, विवरण संकलन र परिचयपत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ‘ट्याबलेट’ प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइने महानगरले जनाएको छ ।

प्रशिक्षणका लागि महानगरपालिकाले ८ देखि १२ चैतसम्म २६  अधिकारीलाई प्रशिक्षण दिएर प्रशिक्षक बनाएको छ ।

छिन्नमस्ताले जेठ भित्र सक्ने

सप्तरी छिन्नमस्ता गाउँपालिकाले जेठ मसान्तसम्म गणनाको काम सकिने जनाएको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले गणकहरू नियुक्त गरेर अहिले गणनाको काम भइरहेको बताए ।

‘गरिब घर परिवार गणनाको काम लगभग आधा सकिइसकेको छ । जेठ मसान्तसम्म मन्त्रालयलाई विवरण पठाउँछौं,’ अध्यक्ष चौधरीले अनलाइनखबरसँग भने ।

उनले कर्मचारी अभाव र गाउँपालिकाको आन्तरिक समस्याका कारण गरिब घर परिवार गणना बेलैमा सुरु गर्न नसकिएको बताए ।

धनुषा औरही गाउँपालिकाले चैतदेखि गणना सुरु गरेको छ । ‘६ महिनामा सकिने लक्ष्य राखेर काम सुरु गरेका छाैं । गणकहरू नियुक्त नगर्दा सुरु भएको थिएन । अब धमाधम तथ्यांक संकलनका लागि पालिकाले गणकहरू पठाइरहेको छ । चालु आवमै मन्त्रालयमा विवरण दिने लक्ष्य राखेका छौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सवीरकुमार महतोले भने ।

सप्तरीकै अग्नीसाइर कृष्णा सवरन गाउँपालिकाले सुपरीवेक्षक र गणकहरू नियुक्त गरेर काम सुरु गरिसकेको जनाएको छ । ‘संकलनको काम सुरु हुँदैछ, गणकहरू नियुक्त भइसकेका छन् । नियुक्तिको ६ महिनामा बुझाउनुपर्ने सीमा तोकेकाले रिजल्ट छिट्टै आउला,’ गाउँपालिकाका एक कर्मचारीले भने ।

सप्तरीकै महादेवा गाउँपालिकाले गणकहरू नियुक्त गर्ने प्रक्रिया भर्खरै सुरु गरेको छ । गाउँपालिका उपाध्यक्ष अर्चनाकुमारी यादवले गणकहरू नियुक्त गरेको बताए पनि काम कहिलेबाट सुरु हुन्छ भन्ने थाहा नभएको बताइन् । ‘गणकहरू चाहिँ गाउँपालिकाले राख्न दुई दिन अगाडि मान्छे बोलाएको थियाे । अब कहिले सुरु हुन्छ, कसरी हुन्छ त मलाई थाहा छैन,’ यादवले भनिन् ।

सप्तरीकै तिरहुत गाउँपालिकाले अहिलेसम्म गरिब घर परिवार पहिचान कार्यक्रम सुरु गर्न सकेको छैन । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोसाइ यादवले कर्मचारी प्रमुख परिवर्तन भइरहँदा सुरु हुन नसकेको बताए । ‘गाउँपालिकामा हाकिम आएर काम सुरु गर्ने बित्तिकै स्ररुवा हुन्छ, गणक, सुपरीवेक्षक नियुक्त नभएर तथ्यांकको काम सुरु हुन नसकेको हो,’ यादवले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button