दीपक मनाङेले भने – फुटबल खेलेर बसिरहेको थिएँ, अब ४ वर्ष म पनि राजनीति गर्छु

५ चैत, पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री दीपक मनाङेले आफूले अब वास्तविक राजनीति गर्ने बताएका छन् ।
सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एक वर्षसम्म आफू आराम गरेर बसेको र अबको चार वर्ष राजनीति गर्ने बताए ।
‘एक वर्षसम्म म यसो फुटबल सुटबल खेलेर हिँडिरहेको थिएँ, रेस्टजस्तो । हिजो चाहिँ मलाई के जोश आयो भने यो ४ वर्ष मैले पनि राजनीति गर्नुपर्छ’, उनले भने ।
यसअघि आफूले सामाजिक काम गरेको भन्दै मनाङेले थपे, ‘अब रियल पोलिटिक्समा आउँदैछु ।’
केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उनले बताए ।
आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको भन्दै चुनावमा जाँदा खर्च धेरै हुने बताए । ‘मध्यावधिमा म जानै दिन्न, गएछ भने पनि मैले लड्दिन’, उनले भने ।
भौतिक पूर्वाधार मन्त्रालय नै किन रोजेको भन्ने पत्रकारको प्रश्नमा उनले सरकारको ७० प्रतिशत भन्दा बढी बजेट यसमै रहेको र भ्रष्टाचार पनि धेरै हुने भएकाले नियन्त्रण गर्न गएको जवाफ दिए ।
‘४/५ दिन टाइम दिनुस् म कसरी पेल्छु, पब्लिकको पैसा पब्लिकमा जानुपर्यो यहाँ त मन्त्री र सचिवले खाएर सकियो’, उनले भने । मन्त्री हुँदा विकासका के के योजना छन् भन्ने प्रश्नमा मनाङेले विकास आफैं हुने जवाफ दिए ।
‘विकास त्यत्तिकै भइहाल्छ, करप्सन रोक्ने हो । विकास गर्न हर्क साम्पाङ झैं हिँड्नुपर्दैन, हामीसँग धेरै इन्जिनियरहरु छन्’, मनाङेले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।